विराटनगर — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा कोशी प्रदेशका १६७ जना बेपत्ता भएकोमा १४५ जना अझै सम्पर्कविहीन रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बेपत्तामध्ये २१ जना सम्पर्कमा आएका छन्। दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना घाइते अवस्थामा फेला परेका छन्। इलामका एक जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ।

सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै सोलुखुम्बुका ३९ जना रहेका छन्। त्यसपछि ओखलढुंगाका १९, उदयपुर, मोरङ र सुनसरीका १६–१६ तथा झापाका १० जना सम्पर्कविहीन छन्।

अन्य जिल्लाका नागरिक पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निरन्तर जारी राखेको छ।