काठमाडौं, मंसिर १० । प्याजको मूल्य किलोको २ सय ३० पुगेको छ। काठमाडौं उपत्यकाको सबभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको मूल्य सूची हो।
प्याजको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ। गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको थियो। असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो। कालिमाटी बजारमा सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेकोमा मंगलबार ३० रुपैयाँले बढेको हो।
यो सिजनमा प्याजको उत्पादन घटेपछि भारतीय बजारमा प्याजको मूल्य बढेको छ। नेपाली प्याजको बजार भारतीय उत्पादनमा भरपर्ने हुनाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको हो। भारत सरकारले भने प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ।



















