भूमिप्रसाद पाठक,

पथरी ,चैत्र २० । कोभिड –१९, कोरोना भाइरसको संक्रमणबाट आतिएको पथरी शनिश्चरे यतिबेला अत्यन्तै सावधानी अपनाउदै आएको छ ।

पथरी शनिश्चरे नगरपालिका, पथरी उद्योग वाणिज्य संघ र प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीको समन्वयात्मक भूमिका र सक्रियताले स्थानीय जनमतले अभिभावक पाएको अनुभूति गर्न थालेको छ । अहिले कोरोना भाइरस संक्रमणको डरले नगरबासी हामी सबैलाई सताएको छ ।

12

 मलाई चाहिँ कोरोनाले छुँदैन भन्ने होइन । रोकथाम मात्र एउटा उपचारको विधि हो । रोकथामका लागि अवलम्बन गरिएका विधिहरू अनुसरण गर्न गराउन हामी सकभर प्रयत्नशील छौँ । जनप्रतिनिधिको समुह घर–घर पुगेको छ । नागरिक सचेतनता बढिरहेको छ ।

जिल्लान्तरबाट कहीँ कोही आएको अवस्था भए त्यो परिवारसँग हामी जोडिन खोजिरहेका छौँ । संक्रमणको लक्षण देखिए उपचारको बन्दोबस्त भएको छ ।यसबीचमा ९–१० जनालाई टाँडीस्थित आइसोलेसनमा पठाइयो । तर, केही लक्षण देखिएन ।

लक डाउनका कारण विपन्न र अति विपन्न घरपरिवारजनमा दैनिक छाकबासका हकमा पर्न गएको असरबारे हामी गम्भीर छौँ । यसबारे अवस्था निक्र्यौल गर्न हाम्रो शक्ति लागेको छ । चाँडै नै राहतस्वरुप सामग्री वितरणको व्यवस्थापन हुने छ । हामीले राहतका लागि एकद्वार प्रणाली अवलम्बन गरेका छौँ ।

सहयोगी मनहरूलाई सरकारसँग सहकार्य गर्न हार्दिक अपील गरेका छौँ । यसकारणले यहाँ हामीले आत्तिइरहनुपर्ने खास केही छैन । यद्यपि, सजगता अपनाउन भने छोड्नु हुन्न । यो मानव संकट र अस्तित्व रक्षाको अभियानमा अहोरात्र क्रियाशील नगर उपप्रमुख यमुना बिष्टले संक्षिप्त टेलिफोन संवादमा बताउनुभयो ।

आजदेखि किटनाशक औषधी पनि सर्वत्र छर्किन लागिएको छ । कोरोना संक्रमण सबैका समान चासो र जिम्मेवारीबोधको विषय भएकोले यस क्षेत्रमा क्रियाशील विषयगतपेशाकर्मी युनियन, सर्वदलीय र सर्वपक्षीय सहमति र समन्वयमा काम गर्न सकिए थप बढी उपलब्धी आर्जन गर्न सकिने कुरामा ढुक्क उहाँ केही दिनभित्र यो प्रयासले पूर्णतः पाउने बताउनुहुन्छ ।

लक डाउनको पहिलो हप्ता सकिएलगत्तै थपिएको यो दोस्रो हप्ताको आज दशैं दिनसम्म आइपुग्दा आत्यावश्यक वस्तुको परिपूर्ति सहित क्रियाशील यहाँको जनप्रतिनिधिको समूह र प्रहरी प्रशासनको भूमिका निकै राम्रो रहेको प्रहरीको भूमिकाले प्रस्ट पारेको छ ।

पूर्वोत्तर मोरङको पथरी शनिश्चरे नगरक्षेत्रअन्र्तगत क्रियाशील प्रहरी बल ठाउँ–ठाउँमा पुग्ने, मास्कलगायत सावधानी अपनाउनुपर्ने विषयमाथि नागरिकलाई सचेत गर्ने, उपलब्ध मास्कलाई वितरण गर्ने, सरकारद्वारा जारी लक डाउन कार्यान्वयनलाई उल्लङ्घन गर्न उद्यत नागरिकलाई उसको व्यवहारअनुसार कारबाही गर्ने, मास्कसमेत नभएको अवस्था भए निजलाई बाटबाटै परामर्श गरिने, बजार क्षेत्रमा हुने सम्भावित अनियमितता र कालाबजारीमा सुक्ष्म निगरानी गर्ने गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

यसबीचमै वडा नं. १० मा एउटा हत्या प्रकरण बाहिरियो । यसलाई मसिनो ढंगले अध्ययन गरेर फरार हत्यारालाई कारबाहीका दायरामा ल्याएका छौँ । प्रचलित कानुनी व्यवस्थाअनुसार कारबाहीको प्रक्रिया अघि बढ्ने छ । हामीले त राज्यको स्थापित ऐन, कानुन र आचारसंहिता पालना गर्ने गराउने हो ।

यस  सन्दर्भमायहाँको नागरिक औसत सचेत र सतर्क भएको कारण पुलिसले साह्रै धेरै ठूलो बल प्रयोग गर्नु नपरेको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।

पथरी बजारमा दुइपटक लाग्ने सप्ताहिक हाट अनिश्चितकालका लागि बन्द, भीडभाड हुन सक्ने सार्वजनिक स्थलहरूमाथि निगरानी बढाउने र नियन्त्रणमा लिने, बाक्लो आवागमन र यातायातमाथिको कडा निगरानी राखिने, एउटा खास अवस्थाबाहेक गाडीघोडालाई चल्न नदिने, अत्यावश्यक वस्तुको सहज उपलब्धतामार्फत नागरिक सेवा सुविधा अभिबृद्धि गर्ने, दीर्घरोगीको उपचारलाई सुचारू राख्ने, आवश्यक औषधी, खाद्यपदार्थ, इन्धनलगायत उपभोग्य वस्तुमाथिको सहज उपलब्धताका लागि अनुगमन गर्ने गरिएको प्रयास यहाँको लागि एकदमै राम्रो रहेको छ ।

यसमाथि व्यापारी–व्यवसायीलगायत कसैले पनि कालोबजारी गर्न नहुने, गरे कडाकारबाहीमा पर्ने, जीवन रक्षाको गुहार लगाउँदै घरभित्र संयमता अपनाउँदैआएको सेवाग्राहीलाई मानवीय हिसावले परस्पर सहयोगमा उत्रनुपर्ने, मानिस–मानिसबीचको अस्तित्व र सहअस्तित्व कायम गर्ने, समाजमा स्थापित सद्भाव, सदाचार आदि पक्षलाई अझ महत्वका साथ उठाउने महत्वका हिसावले आफूहरू क्रियाशील रहेको दैनन्दिन अनुगमनमा संलग्न पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले बताउनुभयो । कारणबस जारी लक डाउन लम्बिए पनि यहाँ भोकमारी नहुने कुरामा अध्यक्ष बस्नेत ढुक्क हुनुहुन्छ ।