नयाँदिल्ली, ९ भदौं । भारतको महाराष्ट्रमा ५ तले भवन ढल्दा कम्तीमा ९० जना हताहत भएको आशंका गरिएको छ । अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्थानीय प्रहरीका अनुसार सोमबार साँझ ७ बजे भवन ढलेको हो । दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा रायगढ जिल्लाको महाडस्थित भवन ढलेको हो ।
बीबीसी हिन्दीका अनुसार अहिलेसम्म एक जनाको शव भेटिएको छ । ८ जनाको उद्धार गरिएको छ भने ७ घाइतेलाई अस्पताल भर्ना गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन बलको टोली खटिएको छ ।
हापुस ताल नजिकै रहेको उक्त भवन दशक पुरानो हो । भवनामा ४५ देखि ४७ वटासम्म फ्ल्याट थिए । भवन ढल्न लागेपछि केही मानिस बाहिर आउन सफल भए पनि धेरै मानिस भित्रै थिए ।
भारतका गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद प्रतिक्रिया बलका महानिर्देशकलाई उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन् । त्यस्तै मुख्यमन्त्री उद्धव ठाकरे, स्थानीय विद्यायक भरत गोगावले लगायतले पनि उद्धारमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् । हिन्दी बीबीसी




















