काठमाडौं, १७ कार्तिक । निर्वाचनको समयमा नेताहरुले के–के बयान दिन्छन्, त्यो उनीहरुलाई पछि राम्रोसँग याद हुँदैन भन्ने विश्वास गरिन्छ । यस्तै एक बयान भारतमा एक नेताले बनौठो बयान दिएका छन् । भारतमा अहिले निर्वाचनको माहोल बनाउँने क्रम जारी रहेको छ ।

बिहार राज्यमा विधानसभाको निर्वाचन सुरु भैसकेको छ । यस्तै मध्य प्रदेश राज्यमा पनि उपचुनाव हुँदैछ । त्यहाँ नेताहरु प्रचारप्रसारमा व्यस्त रहेका छन् । अशोकनगरबाट भारतीय जनता पार्टी (भाजपा) सांसद ज्योतिरादित्य सिन्धियाले शनिबार अशोकनगरमा चुनावी सभालाई सम्बोधन गर्दै दिएको बयानले सबैलाई चकित बनाएको हो ।

 

शनिबार बेलुका भाजपाका सांसद सिन्धियाले पूर्व मुख्यमन्त्री एवं कांग्रेस नेता कमलनाथको कडा शब्दमा आलोचना गरेका हुन् । सिन्धियाले कमलनाथले आफुलाई कुकुर भनेको बताएका छन् ।

सिन्धियाले भने, ‘हो, म कुकुर हुँ किनकि म जनताको नोकर हुँ र जनता मेरो मालिक हुन् । कुकुरले आफ्नो मालिकलाई जोगाउँछ। यदि कसैले गलत र भ्रष्ट नीतिहरू ल्याउँछ भने कुकुरले उसलाई बाँकी राख्दैन यसैले म कुकुर हुँ । उनको यो भाषण अहिले भाइरल भइरहेको छ ।