काठमाडाैं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार मंसिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।

यस वर्ष यमपञ्चक आज कात्तिक २७ गतेदेखि सुरू भएको छ । त्यस दिनदेखि यमदीप दान सुरू गरिन्छ । कात्तिक २८ गते  काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक २९ गते  बिहान नरक स्नान सहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते  गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । आइतबार बिहान ११:२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यसै दिनदेखि नेपाल संवत् ११४१ सुरू हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मंसिर १ गते नै मनाइन्छ । मंसिर २ गते बिहान ७:०४ बजेसम्म मात्र द्वितीया तिथि छ । यसैले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायले मंसिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए । मंसिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ ।

 

(रासस)