गौतम राइ
फ्रेडरिख एंगेल्स जन्मेको पनि २०० वर्ष पूरा भएछ । तर पूरा भैसकेका छैनन उनको साथी मार्क्ससँग देखेका सपना र कोरेका मानवजातिको भविष्य ।
२८ नोभेम्बर १८२० मा जन्मिएका एंगेल्स, मार्क्सको भाषामा एक सन्त मानिस, एक धनी पुँजीपति उद्योगीका पुत्र, जो उद्योगको नाफा घाटा भन्दा बढी श्रमिकको बारेमा चिन्तित रहे जीवनभर ।
पहिलोपटक म्यानचेष्टरमा पिताजीको टेक्सटाइल बिजनेस सम्हाल्न पुगेका उनले मजदुरको हालत देखेर किताब नै लेखे `Condition of working class in England´ । उनले त्यहाँ मजदुरहरूको खराब स्वास्थ्यको हालत देखेर `स्वास्थ्य कसरी वर्गीय हुन्छ ?´ भनेर समेत देखाइदिए जसले जनस्वास्थ्य (public health)को दार्शनिक आधार समेत तयार गरिदियो ।
त्यही दौरानमा क्योलनमा रहेको राइन पत्रिकाको कार्यालयमा उनको मार्क्ससँग छोटो भेट भयो । पछि गएर त्यो छोटो भेट एउटा लामो मानव इतिहास कोर्ने पहलु बन्नेछ भन्ने मार्क्स र स्वयम् एंगेल्सलाई के थाहा थियो र । तर, उस्तै आत्माका देहहरू जीवनका अन्तिम कालसम्म सँगै रहे ।
मार्क्स बितेपछि `कम्युनिस्ट घोषणापत्र´मा पहिलोपल्ट एंगेल्स एक्लैले लेखेको भूमिकामा भन्छन्- यो काम हामी जो मार्क्स-एंगेल्सको नाममा जे-जे लेखिएको छ, आएको छ यसमा मेरो सहायक भूमिका मात्रै रहेको छ । वस्तुतः यी सबै मूल विचार भने मार्क्स कै थिए/हुन् । यी महामनिसीको मूल विचारको सहयोगी हुन पाउनु पनि मेरा जीवनका लागि ठूलो अवसर रह्यो ।
साँच्चै, एंगेल्स हुदैन थिए भने मार्क्सले मानवजगतका लागि जे-जति योगदान दिए के त्यो सम्भव हुन्थ्यो ? Hypothetical नै भएपनि सायद त्यो असम्भव हुने थियो कि ! किनकि, लेखन र विचार मन्थनका लागिमात्र नभएर जीवनका सामान्य आवश्यकता पूर्तिका लागि पनि एंगेल्स मार्क्सको जीवनका लागि एक महत्त्वपूर्ण सहयोगी रहे ।
Marx in Soho मा मार्क्स भन्छन्- सोहोको चिसो र फोहोर गल्लीमा रहेको हाम्रो कोठाको पानी र बत्ती सबै काटिएका हुन्थे, खाने पाउरोटी समेत किन्ने पैसा नभएर हामी निराश बनेर खुम्चिएका हुन्थ्यौं, जेनीले आफ्नो दाइजोमा आएका गरगहनाले मात्रै नपुगेर सुतीका निकै मूल्यवान तन्ना समेत बन्धकी राखिसकेका हुन्थ्यौं ।
अचानक एंगेल्स आइपुग्थे र पानी बत्तीका बिल तिरिदिन्थे अनि केही दिनसम्म पुग्ने पाउरोटी लगायत खानेकुरा किनिदिन्थे, साथै केही रूपियाँ पैसा पनि छोडेर गैहाल्थे…कहिलेकाहीँ लाग्छ, हरेक क्रान्तिकारीको जीवनमा एंगेल्स जस्तो एक हमसफर भइदिए क्रान्तिको गति अल्लि सहज हुनेथियो कि…?





















