काठमाडौं, २० मंसिर । नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला परिचालन गरेको छ । त्यसका लागि उनीहरूलाई विशेष तालिम पनि दिइएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शव दहनमा अभ्यस्त गराउन सेनाले उपत्यका पृतनामा कार्यरत सैनिक महिलालाई एक साताको तालिम दिइएको थियो । तालिममा सिपाही दर्जाका १० जना सहभागी थिए । उनीहरूले ६ वटा शव दहन गरिसकेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।‘महिला सशक्तीकरणका लागि सेनाले गरेको यो एउटा नौलो प्रयोग हो,’ पौडेलले भने, ‘राष्ट्रका लागि आवश्यक हरेक क्षेत्रमा महिलाले उत्तिकै योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न खोजेका हौँ । यही कदमअन्तर्गत शव दहनमा महिला सैनिक प्रयोग गरिएको हो ।’

नेपाली समाजमा व्याप्त अन्धविश्वासका कारण महिलालाई शव दाहसंस्कारमा कमै सहभागी गराइन्छ । सैनिक प्रवक्ता पौडेलले भने, ‘महिला र पुरुष बराबरी हुन् । शव दहनमा महिलाको प्रयोग यसैको एउटा विम्ब हो । नेपाली सेना यसरी नै प्रत्येक क्षेत्रमा सैनिक महिलालाई सशक्त बनाउन चाहन्छ ।’

उनका अनुसार सातदिने तालिमका सहभागीलाई शव दहनका समुदायगत प्रक्रिया र संक्रमणबाट बच्ने सबै उपाय सिकाइएको छ । हिन्दू धर्ममा आस्था राख्ने समुदायका मृतकको शव पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शव दहन केन्द्रमा दाहसंस्कार गर्ने गरिएको छ ।

यस्तै, बौद्ध धर्मावलम्बीहरूको शव स्वयम्भूस्थित घाटमा समाधिस्थ गरिन्छ । त्यसबाहेक इसाई, मुस्लिमलगायत धर्मावलम्बी समुदायका मृतकको शव उनीहरूकै परम्पराअनुसार दहन गर्न सैनिक महिलाले सघाउने छन् ।

सेनामा साधारणतर्फ महिला अधिकृत १८३

सेनाले महिलाका लागि सेवा खुला गरेको सन् १९६१ देखि हो । तर, त्यसवेला महिलाका लागि साधरणतर्फ खुला थिएन । सन् २००४ देखि महिलाका निम्ति पनि सेनाले साधारणतर्फ सेवा खुला गर्यो । त्यसयता प्रत्येक वर्ष सेनाले पुरुषसँगै महिलालाई पनि सैनिक सेवामा भर्ना लिँदै आएको छ ।

हालसम्म साधारणतर्फ महिला अधिकृतको संख्या एक ८३ पुगेको छ भने प्राविधिकतर्फ महिला अधिकृत दुई सय १४ जना छन् । साधारण सेवातर्फ जुनियर अधिकृतदेखि सिपाहीसम्म तीन हजार सात सय ५८ पुगेको छ । प्राविधिकतर्फ भने नौ सय सात जना छन् ।

सेनाका अनुसार साधारण सेवातर्फ सैनिक महिला अधिकृतको उपस्थिति मेजरसम्म छ । उनीहरूको संख्या अहिले ७४ छ । तर, प्राविधिकतर्फबाट माथिल्लो तहमा पुग्ने सैनिक महिला अधिकृतको संख्या धेरै छ । सेनाका अनुसार प्राविधिकतर्फ सैनिक महिलाको उपस्थिति सहायक रथीसम्म छ । उनीहरूको संख्या अहिले तीन छ । सबैगरी नेपाली सेनामा अहिले पाँच हजार ६२ सैनिक महिला सेवारत छन् । नयाँ पत्रिका दैनिकबाट