दानकुमार ढकाल (डीके )
राजनीतिक वृत्तमा सबैभन्दा बढी बहस भइरहेको विषय हो, समाजवाद । तर, समाजवाद के हो ? यसका विशेषता के–के हुन् ? समाजवाद भएमा के फाइदा हुन्छ ? समाजवादका अवगुण के–के हुन् ? भन्नेबारे आमनागरिक अनविज्ञ प्रायः छन् ।
नेपालको संविधानमा नै देश ‘समाजवाद उन्मुख’ भनेर उल्लेख गरिएको छ । सत्तापक्षले मुलुक समाजवादको दिशामा अघि बढेको दाबी गरिरहेको छ भने प्रतिपक्षलगायत क्रान्तिकारी दलहरुले मुलुकको व्यवस्था ‘दलाल पुँजिवादी’ भएको र यसबाट समाजवाद असम्भव भएको तर्क गरिरहेका छन् । यसप्रकारको बहस भइरहँदा समाजवाद भनेको के हो ? भन्नेबारे बुझन् आवश्यक छ ।
समाजवाद भनेको एउटा यस्तो व्यवस्था हो, जहाँ देशको सम्पूर्ण स्वामित्व सरकारमा निहीत हुन्छ । र, देशमा भएका सम्पूर्ण स्रोत÷साधनमा सबै नागरिकको समान पहुँच हुन्छ । अर्थात् समाजवादमा राज्यको सम्पूर्ण सम्पत्तिको समान वितरण हुन्छ । ठूलो÷सानो, धनी÷गरिब भन्ने हुँदैन ।
यद्यपि, समाजवादको नमूनाबारे पनि बहस भइरहेको छ । यसका विभिन्न प्रकार छन् । त्यसैले ठ्याक्कै समाजवाद भनेको यो हो भन्न कठिन छ । तर पनि सारमा समाजवाद भनेको समतासहितको समानता नै हो ।
समाजवादका सकारात्मक पक्ष
१. भेदभावरहित राजनीतिक तथा आर्थिक प्रणाली
२. समानता र न्यायपूर्ण प्रणाली
३. सहभागितामूलक र सहकारिताको भावना
४. गरिबीको अन्त्य
५. उत्पादनका साधनहरुको समान वितरण
६. एकले सबैको लागि र सबैले एकको लागि काम गर्ने
७. व्यक्तिगत महत्वकांक्षा निषेध
८. प्राकृतिक स्रोत साधनको समुचित उपयोग
९. राष्ट्रिय पुँजीको विकास
१०. राज्यबाट आधारभूत कुराको सुनिश्चितता
समाजवादका नकरात्मक पक्ष
१. व्यक्तिगत सम्पत्तिको नियन्त्रण प्रणाली
२. पुँजीको विकासलाई महत्व नदिनु
३. निजी उद्योग र कम्पनी निर्माणमा रोक
४. नाफालाई महत्व नदिइएको
५. बजारको नियन्त्रणमा रोक
६. धन सम्पत्ति कमाउनु र व्यक्तिगत सम्पत्ति कमाउनमा रोक
७. मानवअधिकारमा कटौती
विश्वमा समाजवाद भएका देशहरु :
चीन, क्युवा, लाओस र भियतनाममा समाजवाद भएको भन्ने गरिन्छ । त्यस्तै कतिपयले उत्तर कोरियाको व्यवस्थालाई पनि समाजवाद भन्ने गरेका छन् । यद्यपि, समाजवाद नै स्थापित भएको देश खोज्न कठिन छ । समाजवाद कुनै एउटा देशमा आउने हो या विश्वमा एकैचोटि स्थापित हुने ? भन्नेमा पनि विवाद छ ।
समाजवाद स्थापनाको प्रक्रिया
पुँजिवादको उच्चतम् प्रयोगपछि समाजवाद आउने एकखाले तर्क छ । त्यस्तै प्रक्रियामा नभई क्रान्तिको माध्यमबाट जनसत्ता स्थापित गरेको अवस्था नै समाजवाद भएको तर्क गर्नेहरु पनि छन् ।




















