काठमाडौँ — नातेदार पास गराउन अनियमित तरिकाले सञ्चालन गरिएका त्रिवि सेवा आयोगका परीक्षाको अन्तर्वार्तासमेत लोकसेवा आयोगका प्रतिनिधिबिनै लिइएको पाइएको छ । खुला प्रतिस्पर्धाको कर्मचारीतर्फका कुनै पनि अन्तर्वार्तामा लोकसेवाबाट खटाइएका सदस्य ब्रह्मदेव राय उपस्थित छैनन् । त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा र सदस्य चिन्तामणि पोखरेलले मात्रै लिखित परीक्षामा उत्तीर्ण प्रतिस्पर्धीसँग अन्तर्वार्ता लिने गरेका छन् । बिहीबार पनि पुस्तकालय सहायकको अन्तर्वार्ता लिइएको छ ।
परीक्षामा अनियमितता सार्वजनिक भएपछि राय अलग रहेका हुन् । उक्त परीक्षामा अनियमितता भएको आरोपमा अख्तियारले समेत छानबिन गरिरहेको छ । अख्तियारले छानबिन थालेको दिनदेखि म कुनै पनि अन्तर्वार्तामा संलग्न छैन, रायले कान्तिपुरसँग भने, एउटा संवैधानिक निकायले छानबिन गरिरहेको विषयमा अर्को संवैधानिक निकायको प्रतिनिधि बस्न मिल्दैन, त्यसैले बाहिर बसेको हुँ ।ु रायले त्रिवि सेवाका पदाधिकारीले परीक्षामा आफूखुसी निर्णय गर्ने गरेको गुनासो गरे । कर्मचारी नियुक्तिसम्बन्धी कार्यविधि संशोधन गरेर लोकसेवा आयोगलाई भूमिकाविहीन बनाइएको छ, उनले भने, त्यहाँ जानु र नजानुको कुनै अर्थ छैन ।
त्रिवि ऐनको परिच्छेद ६ मा लोकसेवाको सदस्य त्रिवि सेवा आयोगको पदेन सदस्य हुने व्यवस्था छ । त्रिवि आयोगका अध्यक्ष र प्राध्यापकमध्येबाट १ जना सदस्य कुलपतिले नियुक्त गर्छन् भने ३ सदस्यीय आयोगमा लोकसेवाका प्रतिनिधि अर्का सदस्य हुन्छन् । त्रिवि सभाले भने यसअघि नै शिक्षककर्मचारी नियुक्तिमा लोकसेवाका प्रतिनिधिको भूमिका नरहने गरी कार्यविधि तयार पारेको हो । कार्यविधिमा अन्तर्वार्तामा त्रिवि आयोगका दुई सदस्य मात्र भए पुग्ने उल्लेख छ । यही प्रावधानमा टेकेर अध्यक्ष शर्मा र सदस्य पोखरेलले विवादित परीक्षाको अन्तर्वार्ता सञ्चालन गरेका हुन् ।
स्रोतका अनुसार अध्यक्ष शर्माले रायलाई छलफलका लागि भन्दै पटकरपटक भेट्न अनुरोध गरिरहेका छन् । चैतन्य सरले लोकसेवा आयोगकै कार्यालय वा घरमै भेट्न आउँछु भनेर राय सरलाई धेरैपटक टेलिफोन गरिसक्नुभयो,ु त्रिवि सेवा आयोग स्रोतले भन्यो, ब्रह्मदेव सर मान्नुभएको छैन, अन्तर्वार्तामा पनि आउनुभएको छैन ।ु त्रिवि आयोगमा लोकसेवाका प्रतिनिधिलाई भूमिकाविहीन बनाइएकामा लोकसेवाका अन्य सदस्यसमेत असन्तुष्ट छन् । एक सदस्यले भने, सकेसम्म लोकसेवाका प्रतिनिधि अनुपस्थित भएका बेला त्रिवि आयोगमा गलत निर्णय गरिन्छ ।



















