लघु कथा -" हराएको मूर्ति"
 

यो व्यापारीको जीवन पनि कुमालेको चक्र जस्तो हुने । घुमेको घुमेई गर्नु पर्ने ।कहिलेकाहिँ त अर्कै पेसा गरौं कि जस्तो पनि लाग्ने । तर पैसा र स्वतन्त्रता यसैमा छ । खाली मान, सम्मान र पहिचान कम छ भन्नु न हो । त्यसै कसरी छोड्न सकिएला र? घर, गाडी, ऐश आराम घुमफिर सवै यसैले धानेको छ। अस्ति चुनाव हारेको नेताले जीवन चलेन हौ साथि भन्नु भो । पचास हजार दिएँ, सारै खुशी हुनु भो । अर्को चुनाव जिते भने गुन तिर्छु है मित्र भन्नु भो ।
प्रतिस्पर्धाको बजारमा अपडेट टेक्नोलोजी हाल्न सकिएन भने सधैं पछाडि परिने डर। त्यसैले म अक्सर थाइल्याण्ड, कोरिया र सिंगापुर गईरहन्छु।नयाँ उत्पादन, प्रविधि र बजारको बारेमा बुझ्न ।

एकपटक सिंगापुरको बसाई अलिक लामु भयो । फुर्सदको समय सपिङ्ग गर्न गए । सामान हेर्दै जाँदा एउटा गिफ्ट सपमा क्रिस्टल को सारै राम्रो राधा कृष्णको मूर्ति देखें ।सानो सानो ठिक्क साइजको त्यो मूर्ति सारै नै राम्रो देखिन्थ्यो । राधा कृष्णको मुकुट र कृष्णको बासुरीमा सुनको जलप लगाएको थियो । मैले त्यो मूर्ति किने । त्यसको प्याकिङ बट्टा पनि असाध्यै राम्रो थियो । म सधैं विदेशबाट घर आउँदा केहिनकेहि नयाँ समान लिएर आउँछु ।
घरको बैठक कोठामा सजाएर राखेको त्यो मूर्ति हरायो । घरमा साथीभाइको नि बाक्लै उपस्थिति हुन्थ्यो । तर नदेखी कसलाई के भन्नु । मेरो मन् सारै खिन्न भयो। सारा खोजी गरियो सवैलाई सोधियो तर मूर्ति भेटिएन । म त्यो मूर्ति ल्याउँदाको बट्टा हेरेर टोलाई रहें । मेरा छोरा छोरी नि उदास देखिए । छोरीले मलाई अंगालो हाल्दै भनिन् बाबा कत्ति राम्रो थियो नी त्यो मूर्ति । म भक्कानिए ! श्रीमती रम्भाले सम्झाउँदै भनिन् बेबी कत्ति दुःख मानेको फेरि जाँदा ल्याए भैगो नि! तर मेरो चित्त मानेन । त्यो मूर्तिको सम्झना ले मलाई धेरै दिन सम्म फ्रेश हुन दिएन ।

एक दिन मेरो कलेज देखिको साथी र अहिले मेरै बिजनेस ग्रुप को साथीको श्रीमती ज्योति ले मलाई दरवारमार्गको कफि सपमा बोलाईन् । म उद्योग वाणिज्य संघको मिटिङ्ग सकेर उतै लागे । उनी एक्लै मलाई पर्खी रहेकी थिइन् ।मैले ढिलो भएकोमा सरी भने ।उनले हासेर सहज लिइन । उनैले कफि अर्डर गरिन् । ये साच्ची सुनत भोलि तिम्रो बर्थडे होइन? मैले हो भने । तिमीहरू बिजनेस मेन सधैं व्यस्त, जन्मदिन नी भुलौला भनेर जिस्काईन् ।पुराना कुरा गर्दै हामी गफियौ । हिड्ने बेलामा उनले मलाई हाप्पी बर्थडे भन्दै गिफ्ट दिदैं भनिन् यो मेरो श्रीमान लाई कसैले दिएको रे ! मलाई खुब मन पर्यो र तिमीलाई दिएकी। मैले थ्याङ्क यू भने ।

घर आएर खाना खाएपछि बैठक कोठामा टि भी हेर्दै गर्दा मैले ज्योतिले दिएको गिफ्ट सम्झिए । केटाकेटी हरु उनीहरूकै कोठामा गेम खेल्दै थिए । रम्भा खोई कता थिइन् ? मैले रातो झिलझिले च्याते र कुटको बट्टा नि खोलें । आहा ! मेरो हराएको जस्तै राधा कृष्णको मूर्ति पो रहेछ । ठ्याक्कै उस्तै रङ,आकार र साइज पनि दुरुस्तै । थ्याङ्क यु ज्योति! मलाई पुरानो आफ्नै मूर्तिको याद आयो । त्यो महङ्गो मूर्ति किन्दा पसलेले मूर्तिको टेक्ने भागमा सुनको जलपले एक अक्षर लेखी दिएको थियो ।मैले श्री लेख्न लगाएको थिए । त्यो मूर्तिलाई फर्काएर हेरे !

ओ माई गड! श्री नै लेखेको रहेछ । म स्तब्ध भएँ ! त्यही बेला रम्भा आइन् र भनिन् के हो यो ? मैले त्यही राधा कृष्णको मूर्ति देखाँए र पहिले कै ठाउँमा राख्दै उनलाई भने रम्भा यो मूर्ति चै नहरावस् ल ! एक्कासी अँध्यारो भयो ।रम्भालेले भनिन् बत्ती गयो ।
© प्रेम लुइटेल "प्रेमी"
२०७७ माघ १