सामाजिक सञ्जालले धेरै पुराना साथीहरुसंग भेट र नयाँ साथीसँगको मित्रता बढायो । मानिसको व्यक्तिगत जीवनलाई अलिक बढी स्वतन्त्र बनायो । देश विदेश चिनायो। शब्द, चित्र र भिडियोले गर्दा संसार पनि क्षणभरमै डूलायो। मानिसलाई लाउन सिकायो, खान सिकायो, हिँड्न, बोल्न र घुम्न पनि सिकायो। ज्ञान सिकायो, विज्ञान सिकायो, मानिसलाई चल्न सिकायो र छल्न नि सिकायो ।
बिहानै मेसेन्जर मा गुड मर्निङ्ग को ताँती लागेर आउँछ । स्टिकर, संदेश, भगवान भक्ति, माया प्रेमका चित्र चिन्न र अनेक धुन तथा संगीत । चाड बाडमा परिकार त कति हो कति, जन्मदिनका सुभकामना र अनेक संदेश पनि हुरुरु आउँछन् । एकदिन बिहानै गुड मर्निङ्ग हजुर भनेर संदेश आयो । यसो नाम हेरेको प्रिया शर्मा रहेछ । मैले सम्झिन सकिन ।प्रोफाइल हेरे हामी एक महिना देखि साथि रहेछौ। तर मेसेन्जर मा यो पहिलो संवाद थियो ।
मैले हजुर भने । उताबाट चिन्नुभो भनिन् । मैले अँह भने र सोधीखोजी गरे । उनले मेरो प्रोफाइल हेरेर सवै कुरा पत्ता लगाएकी रहिछन।मलाई पनि उनको माइती चितवन, घर काठमाडौं, श्रीमान् जागीरे, आफू गृहिणी, एक छोरा स्कूल जाने, साढे तीन तले घर, दुई तल्ला भाडा लगाएको अरुमा आफू बस्ने, उनी एउटी छोरी दुई दाजु भाई बुवा मा वि को हेडमास्टर आम गृहिणी दुवै तिर सम्पन्न परिवार भनेर विस्तार लगाइन । हेर्दा निक्कै शुन्दर देखिने उनका कुराले मलाई पनि असल मित्र बन्लिन् जस्तो लाग्यो ।
म पैंतालिस वर्षको उनी पैंतीस वर्षकी जस्ती देखिन्थिन् । बोलचाल र कुराकानी बाक्लै हुन थाल्यो । सुरुमा हामी सियोस् लगाएर बोल्थ्यौ । पछि उनले तिमी भन्नुन मलाई तिमी भनेको मनपर्छ भनिन् । मलाई सुरुमा अप्ठ्यारो लाग्यो तर पछि बानी परे। हाम्रो सम्बन्ध बाक्लिदै र झाँगिदै गयो। दिनमा नैं अनेक पटक कुरा हुन थाल्यो। फोन, मेसेन्जर, भाइबर सवै तिर मैले उनलाई र उनले मलाई देख्न थाल्यौ । मानिसको जीवनमा दुईपटक वैंश आउँछ भन्थे हो रहेछ। एक पटक उमेर सगै टिन एजमा आउने जोबनी वैंश र अर्को पुगिसरी आएपछिको बैस। मित्रता र नजिकपनसगै हाम्रो सम्बोधन फेरियो उनले राजा भन्थिन्, बेबी भन्थिन्,काले भन्थिन्, डियर भन्थिन्, बाबा भन्थिन् भने म सानु, कालु,डार्लिङ,प्यारी, रानी भन्थे। हाम्रो पहिलो भेट सिटी महलको निमन्त्रणा रेस्टुरेन्टमा भयो ।शुक्रबारको दिन म पनि ड्रेस कोडमा थिइन ।
जिन्स पेन्ट, रातो टि सर्ट , जेनेभामा किनेको कालो चस्मा सेतो स्पोर्ट सुज लगाएर म पनि ठाँटिएको थिए । म अलिक चाँडो पुगेछु । रेष्टुरेण्टको क्याबिनमा पर्खिएर बसे । मैले क्याबिन नं सात मा छु भनेर फोन गरे उनले सरी जाममा फसे आइहाल्छु भनिन् । रातो वान पिस, रिङ वाला कुण्डल, चिटिक्क मेकअप, सुनौलो छोडेको कपाल, सेता पेन्सिल हिल, लामो भिर्ने भएको पर्स, गलामा मसिनो तर टलक्क सिक्री ओहो ! मैले उनलाई अप्सरा नै देखें। सरी राजा पहिलो दिन नै ढिलो भए भन्दै अंगालो हालिन, म उनको स्वागतमा उभिएको थिए। हामीले एक अर्कोको खुब तारिफ गर्यौ । चिया खाजा खाँदै गफिदै तीन घण्टा बितेछ । समय पनि घटना क्रम अनुसार चाँडो र ढिलो भएको अनुभूति हुँदो रहेछ। हामीलाई समय दौडिए जस्तो लाग्यो ।
पहिलो भेटमा हाम्रो मेच्योड प्रेम सम्बन्ध घर परिवार नबिगारी एक अर्कोमा समर्पण हुने सहमति भयो। आफूमा उदार र अरुमा गोप्य हाम्रो मन्त्र बन्यो । संदेश मा साथि जस्तो र बोलीमा सवै प्रेम छल्कने आदत बन्यो । साच्चै भन्ने हो भने हाम्रो प्रेम राधा कृष्णको जस्तो प्रेमील बन्न पुग्यो । एक अर्काको सुख, दुःख, हाँसो, खुशीमा हामी साझेदार बन्न पुग्यौँ। मैले उनको बर्थडे मा मोबाइल किनिदिए, उनले जुत्ता र राम्रो ज्याकेट किनिदिईन । हाम्रो पोखरा घुम्न जाने सल्लाह भयो । शुक्रबार गएर आईतबार फर्किने । मैले अफिसको गोष्ठीको बहाना बनाएँ भने उनले साथीको छोराको व्रतबन्ध को । बिहान आठ बजे बुद्ध एयरको टिकट इसेवा बाट मैले काटे । उतै एयरपोर्टमा भेट्ने सल्ला भयो । बिहीबार म घर बिदामा घरै बसेकोले मेसेन्जर संदेश मार्फत सल्ला गरेका थियौ । म घर हुँदा बोल्दिन थेँ, तर उनकोमा बन्देज थिएन। श्रीमान बाहिर जिल्लामा थिए। उनका श्रीमान आएको पहिलेनै थाहा हुन्थ्यो।
म सात बजे एयरपोर्ट पुगे । अफिसको ड्राइभरले मलाई छोडेर गयो । म झोला बोक्तै थिए। कसैले मेरो पछाडी बाट आँखा छोपिदियो । नरम हात, औंलाको औंठीको डामले महिला भन्ने चिनिहालेँ। मैले प्रिया भनें र बिस्तारै हात हटाए । ओ माई गड ! उनि त मिरा पो रहिछन् । तिम्रो मेसेन्जर मा पोखरा जाने भन्ने सेडुल आएपछि कत्ति खुशी भएँ दुई दिनमा सवै बहाना मिलाए । बेबी बल्ल यसपटक मेरो इच्छा पूरा गर्यौ भन्दै अंगालो हालिन । मेरो काले एक वर्षको प्लान बल्ल पूरा भयो भनिन् । मलाई किन प्रिया भनेको ? मीराले सोधिन् , मैले मायाले भनें । उनी औधी खुशी भइन् । म अवाक् भएँ । झुक्किएर मेरो संदेश प्रिया र मिरा दुवैलाई गएछ ! मिराको अंगालो बाटै मैले पर प्रियालाई ट्याक्सी बाट ओर्लिएको देखें । मलाई ऐंठन भए जस्तो भयो । एक्कासी कसैले सिरक तान्यो, जिउ चिसो भयो । श्रीमतीजीले ठूलो स्वरमा कराईन् । सात बजिसक्यो अझै नउठेर गर्लफ्रेन्डसँग सपना देखेर सुतिरहेका छौ कि क्याहो ? भन्दै चियाको कप दिइन् । मैले फिस्स हाँस्दै कप समाएँ ।
© प्रेम लुइटेल "प्रेमी"
२०७७ माघ ८




















