काठमाडौं,२३ चैत्र । काठमाडौं जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको समिति बैठकले उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरूमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्नु पर्ने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। बैठकले नाकामा एन्टीजेन परीक्षण गर्नका लागि एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिएर शंकास्पद लागेमा पीसीआर टेस्टका लागि स्वाब संकलन गरी पठाउनसमेत समितिले निर्देशन दिएको छ।

बैठकले नगरपालिकाहरूमा सञ्चालित आइसोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरूलाई आ-आफ्नो नगरपालिका भित्र एक-एक वटा आइशोलेसन/क्वारेन्टाइनको व्यवस्थापन गर्न अनुरोध गरेको पराजुलीले जानकारी दिए। त्यस्तै कोरोना फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा माक्स र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने निर्णय पनि समितिले गरेको छ।