वीरगञ्ज, २७ जेठ । वीरगञ्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ । नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो ।

उक्त जग्गाको लगत आर्थिक वर्ष २०६७–६८ सम्म तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा थियो। त्यसपछि जग्गा व्यक्तिको नाममा पुगेको छ तर सोसम्बन्धी लगत कार्यालयको रेकर्डमा छैन ।

निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि नगर कार्यपालिकाले महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा खोज्न शुरु गरेको छ । खोजीकै क्रममा २१ कित्ता जग्गा व्यक्तिका नाममा खुलेको पुगेको हो ।

वीरगञ्जका नगर प्रमुख विजयकुमार सरावगीको सचिवालयले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै २१ कित्ता जग्गाको कागजात उपलब्ध गराउन माग गरेको छ । ‘मैले सबै जग्गाको विवरण हाम्रो प्रमुख प्रशासकीय अधिकृतमार्फत माग गरेको छु ।

उहाँले सम्बन्धित शाखाहरुलाई लेख्नुभएको छ तर मेरो हातमा अहिलेसम्म विवरण आइपुगेको छैन,’ नगर प्रमुख सरावगीले भने, ‘जग्गाको वास्तविक अवस्था के रहेछ भन्ने थाहा हुने लगत र विवरण प्राप्त भएपछि त्यसलाई बोर्डमा लगेर छलफल गर्ने कुरा थियो ।

लगत नै पाइएन । यसले जग्गा हिनामिना भएको शंका अझ बलियो हुँदै गएको छ ।’ उनले विषय गम्भीर देखिएकाले बोर्ड बैठकबाट कसरी अगाडि बढ्ने भन्ने तय गरिने बताए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले लगत नभेटिएको बताए । ‘यो धेरै गम्भीर प्रकृतिको मुद्दा रहेको छ, लगतै गायब छ,’ उनले भने, ‘हामीले हेर्ने भनेको कार्यालयको अभिलेखबाट नै हो, त्यही नभेटिएपछि समस्या भएको छ ।’ साबिक वीरगन्ज नगर पञ्चायतअन्तर्गत व्यवस्थित बस्ती विकासका लागि पशुपति आदर्शनगर निर्माण समितिले तत्कालीन श्री ५ को सरकारले अधिग्रहण गरेको जग्गा ‘प्लटिङ’ गरेको थियो ।

तीमध्येका धेरैजसो प्लट समितिले विभिन्न व्यक्तिलाइ बिक्री गर्‍यो। केही प्लट बिक्री हुन बाँकी थिए । समितिले बिक्री हुन बाँकी रहेका प्लट समेतको लगतसहित सम्पूर्ण स्वामित्व तत्कालीन समयमा नै वीरगञ्ज नगर पञ्चायतलाई हस्तान्तरण गरेको थियो ।

त्यसमध्येका २१ कित्ता जग्गा महानगरपालिका कार्यालयको लगतबाट गायब पारी व्यक्तिलाई नक्कली कागजात बनाएर बेचिएको सूचना पाएपछि यसको खोजी शुरु भएको हो । कार्यालय स्रोतका अनुसार जग्गा हिनामिनामा केही कर्मचारी र वीरगञ्जका भूमाफियाको संलग्नता छ ।

वीरगञ्जको मुटु मानिने यहाँको मुख्य बजार आदर्शनगर क्षेत्रमा रहेका ती प्लटको हालको मूल्य प्रतिधुर ४० देखि ५० लाख रुपैयाँ छ । सबै जग्गाको मूल्य एक अर्ब १३ करोडदेखि एक अर्ब ४४ करोडको बीचमा पर्ने अनुमान गरिएको छ ।

जग्गा प्राप्ति ऐन २०१८ को दफा ७ को उपदफा १ अनुसार तत्कालीन श्री ५ को सरकारले २०२९ असोज २ गते राजपत्रमा सूचना प्रकाशन गरी वीरगञ्जमा आदर्शनगर निर्माणका लागि जग्गा अधिग्रहण गरेको थियो । सोही ठाउँमा आजको आधुनिक वीरगञ्जको मुख्य बजार क्षेत्र पर्छ ।

आर्थिक वर्ष २०६७–६८ सालपछि जग्गाको हकदाबीका लागि एउटा ३५ दिने सूचना प्रकाशित गरिएको देखिन्छ । उक्त सूचना सार्वजनिक नगरेर कार्यालयको रेकर्डमा मात्र राख्नेगरी प्रकाशित गरिएको कार्यालय स्रोतको दाबी छ । त्यहींदेखि जग्गाको हिनामिना गर्ने चलखेल शुरु भएको बुझिन्छ । नागरिक दैनिकबाट