सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बिञ्जेलमा झाडापखालाबाट १०० भन्दाबढी बिरामी भएका छन्।
बिरामीको उपचारका लागि गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा ७८ बिरामीको उपचार भइरहेको स्वास्थ्य शिक्षा अधिकारी सुनिल ढकालले जानकारी दिए।
एक जनामा टाइफाइडको लक्षण देखिएको उनले बताए। दूषित पानीका कारण झाडापखाला देखिएको उपचारमा संलग्न डा प्रतिक ज्ञवालीले जानकारी दिए।
बिरामी टाउको दुख्ने, पेट दुख्ने र बान्ता आएर बेहोस हुने गरेका छन्। तीस जनाको स्थानीय मेडिकल तथा अन्यको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ। 'तीन जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ', डा ज्ञवालीले भने।
गत बिहीबार छिमेकीको घरमा बिहेको भोज खाएर घर फर्केका उनीहरु शुक्रबारदेखि बिरामी परेका हुन्। गाउँमा झाडापखालाका बिरामी बढेपछि चौतारास्थित जिल्ला जनस्वास्थ्य कार्यालयबाट आज औषधिसहित डा ज्ञवाली र डा तपस्या भुसालसहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा गएको हो।
यस्तै प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेबाट पनि चिकित्सकसहितको टोली गएको छ।



















