पथरी शनिश्चरे १४ असार। मोरङको पथरी शनिश्चरे नगरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत वडा नम्बर ६ को हसन्दह तरकारी पकेट क्षेत्रका ३ वटा कृषक समूहलाई आज कृषि सामग्री प्रदान गरिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू, निर्मला गदाल, ६ नम्बर वडा सदस्य जिवच्छ राई, नगरको कृषि शाखा प्रमुख सावित्रा कार्की सहितले सामग्री वितरण गर्नुभयो ।

नगर उपप्रमुख वास्तोलाले कृषकहरुका लागि माछा भन्दा पनि माछा मार्ने बल्छी दिएर व्यवसायिक कृषि प्रणालीको प्रवद्र्धनमा उत्प्रेरित गर्न यसप्रकारको कार्यक्रम अघि बढाएको जनाउनु भयो ।

नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको ८ लाख गरी १८ लाखको लागतमा ७५ परिवारलाई समेट्ने गरी तरकारी पकेट समितिमार्फत खेत जोत्ने मिनिट्रिलर, मोटर, डिजिटल काँटा, ट्यूबवेल, टनेल, ठेला गाडी, पावर स्प्रे, हजारी सहितका सामग्री वितरण भएको हो ।