पथरी, असार १७ गते । लायन्स क्लब अफ पथरी शनिश्चरे, लायन्स क्लब अफ कानेखाेपरी र लायन्स क्लब याेङ्ग हर्ट पथरी शनिश्चरेले आफ्नो स्थापना दिवसको अवसरमा आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय नर्वदेश्वर मन्दिरको प्रांगण, पथरी बजारमा सम्पन्न कार्यक्रममार्फत ४० प्रिन्ट रगत संकलन भएको छ ।

रेडक्रस जिल्ला माेरङ कार्यसमितिको सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिकर्मी, समाजसेवी र व्यापारी-व्यवसायीले उत्साहप्रद माहोलमा रक्तदान गरेका थिए । स्थानीयवासी राजनीतिकर्मी युवराज बास्काेटा, शिक्षाक्षेत्रमा स्थापित सामाजिक व्यक्तित्व अर्जुनकुमार बुढाथोकी, लायन्स लिडर राेशनकुमार बुढाथोकी, पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दीपक बस्नेत, स्वास्थ्यकर्मी हेमराज चापागाईं, लायन्स उपेन्द्र कँडेल, सर्वलाल राई, गाेमा पौडेल बुढाथोकी, अनु राईलगायत दर्जनौं रक्तदाताले रक्तदान गरेका थिए ।
काेराेना महामारी र बाढीपहिरोको कहर झेल्नुपरेको विद्यमान अवस्थामा संकलित रगतलाई प्रयोगमा ल्याउन सकिने धारणा राख्दै नगरपालिका स्वास्थ्य संयाेजक मुरारी आचार्य र लायन्स लिडर भगतचन्द्र थपलियाले शुभेच्छा व्यक्त गर्नुभयो ।
अङ्ग्रेजी समयअनुसार आज १ जुलाई अर्थात् लायन्स अभियान आरम्भ भएको दिन । यो दिन देशव्यापी रूपमा रचनात्मक कार्यक्रममार्फत नयाँ नेतृत्व चयन, निर्माण र परिचालनको सन्देश दिने गरिन्छ- जाेन चेयर पर्सन लायन्स उपेन्द्र कँडेलले बताउनुभयो ।


