भूमिप्रसाद पाठक

पथरी, असार १९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अविचलित नेता एवं स्थानीय स्तरमा स्थापित व्यक्तित्व रामचन्द्र ढकाल, ७४ को स्मृतिमा आज निज निवास सुनवर्षी नगरपालिका वडा नम्बर १, बज्रघाट, अमरदहमा भव्य कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममार्फत विभिन्न सामाजिक संघसंस्था, सहकारी संघसंस्था र नेकपा एमालेलगायतका राजनीतिक शक्तिले शाेक-समवेदना एवं श्रद्धाञ्जली अर्पण गरेका छन् ।

एमालेको राजनीतिक जीवनमा पछिल्लोपटक कित्ताकटान भएसँगै नेता माधवकुमार नेपाल पक्षधर नेतृत्वलाई यो कार्यक्रममा नदेख्नु, नभेट्नुलाई स्थानीयले बडा ठूलो रहस्यमय ढंगले लिएका छन् । एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य युवराज बास्काेटा, पार्टी जिल्ला सल्लाहकार समिति संयाेजक एवं कानेपाेखरी गाउँ पालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजकुमारी इङनाम, पार्टी जिल्ला सदस्यहरू क्रमशः नगेन्द्र बराल, भाेला अधिकारी, गाेपाल थापा, भगत थपलिया, पर्शुराम कटुवाल, युवा संघ जिल्ला अध्यक्ष नवीन पौडेल, स्थानीय नेता भवनाथ ढकाल, टेकबहादुर भट्टराई, दानबहादुर बस्नेत, कमल कटुवाल, प्याब्सन अध्यक्ष उपेन्द्र कँडेललगायत राजनीतिक सामाजिक व्यक्तित्वको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको छ ।

झाेडाफडनीपछि बस्ती विकासको क्रममा श्रमिक-किसानमाथि भएको दमन, शाेषण र उत्पीडितविरुद्ध उभिएका सामाजिक व्यक्तित्व दिवंगत ढकालले जीवनको उत्तरार्धमा नेकपा एमालेको जिल्ला कमिटी सल्लाहकार सदस्यमा रहेर भूमिका निर्वाह गर्ने गरेको तथ्यलाई पार्टी नेतृत्वले आदर र सम्मानजनक ढंगले बुझ्ने गरेको शाेक-समवेदना कार्यक्रममा सामेल पार्टी जिल्ला कमिटी सदस्य भगत थपलियाले बताउनुभयो ।

तत्कालीन अवस्थामा उपयोगकाे नीति लिएको पार्टीको पञ्चायतविरोधी रणनीतिक योजनाअनुसार उहाँ दुईपटक लगातार पार्टीको तर्फबाट अमरदह गाविस अध्यक्षमा उम्मेदवार हुनुभएको र अत्यधिक मतले चयन हुनुभएको थियो । दिवंगत ढकाललाई यो समाजले अत्यन्तै उँचो आदर, सम्मान र सत्कार सहित बुझ्ने गरेको सहभागी दर्जनौं संघसंस्थाले आफ्नो समवेदनापत्रमार्फत जनाएका छन् ।
दिवंगत नेता ढकालको सेखपछि उहाँको काजकिरिया कर्ममा सामेल श्रीमती, ५ जना छाेरा-बुहारी, ३ छाेरी-ज्वाईं र दर्जनौं नातीनातिना रहेका छन् । हृदयाघातका कारण नेता ढकालको आजभन्दा ९ दिनअघि निज निवासमै देहावसान भएको थियो ।