काठमाडौं, २२ असार । भारतको मध्य प्रदेशको पन्ना टाइगर रिजर्वमा एक बघिनीको असामयिक मृत्यु भएपछि एउटा बाघले आफ्ना डमरुहरुको हेरविचार गरिरहेको छ ।
पछिल्लो दुई महिनादेखि भाले बाघ आफ्ना डमरुहरुका लागि खानाको प्रबन्ध मिलाउनुका साथै उनीहरुलाई शिकार गर्ने तालिम पनि दिइरहेको छ ।
भारतीय एक सञ्चार माध्यमका अनुसार मध्य प्रदेशको पन्ना टाइगर रिजर्वमा पछिल्लो मे १५ मा बघिनी पी २१३ (३२) को मृत्यु भएको थियो । त्यसपछि नै उनका चार डमरु कतै हराएका थिए र पन्ना टाइगर रिजर्वले उनीहरुको लगातार खोजी गरिरहेको थियो ।
व्यवस्थापन पक्षलाई डमरुहरुको पालन–पोषणको चिन्ता भइहेको थियो । तर केही दिनपछि पन्ना टाइगर रिजर्वबाट एउटा भिडियो सार्वजनिक गरियो जसले धेरैलाई अचम्मित तुल्यायो ।एजेन्सी



















