२०४० सालको कुरा हो । हामीलाई पार्टी एकिकरण भेला भनेर बोलाइयो । नेपाल मजदुर किसान संगठन र नेकपा मालेका संगठित सदस्यहरूलाई एकै ठाउमा जम्मा गरिएको थियो । दुवै पार्टीका जील्ला तहका नेताहरू पनि आउनु भएको थियो । मजदुर किसान संगठनको तर्फवाट कमरेड केशव वडाल, उध्दव वडाल, पुष्प वडाल, माधव खनाल र नन्दीकेश्वर नेउपाने सहितका कमरेडहरू जम्मा हुनु भयो । नेकपा मालेको तर्फवाट मदन ढुङ्गेल, ध्रुव जी र नागेन्द्र साह सहितका कमरेडहरू आऊनु भएको थियो । त्यहा कम्युनिष्ट कार्यशैली र परम्परा अनुसार कार्यक्रम सुरु गरियो ।
शहिद प्रती श्रद्धाञ्जली र अन्तर्राष्ट्रिय गीतबाट सुरू भएको कार्यक्रममा पार्टीका नेताहरूले नेकपा माले र नेपाल मजदुर किसान संगठन विच महान एकता भएको जानकारी गराऊनु भयो । त्यसै क्रममा निजगढमा पनी एकिकरणको कार्यक्रम राखिएको वताउनु भयो । पार्टी एकताले नेपाली क्रान्तीलाई नया उचाईमा पुर्याएकोमा सवै कमरेडहरूलाई बधाई तथा शुभकामना दिनु भयो । दुवै सच्चा कम्युनिष्ट पार्टीहरूको एकताले नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ उचाईमा पुर्याउने उद्घोषले सवैमा खुशीको लहर आयो । पुरै कोठा तालीले गुन्जायमान भयो । सवैमा नया आशा र उत्साह पलायो । सम्पूर्ण कमरेडहरूलाई खुशीले गदगद वनायो । त्यही गाऊ भेलाबाट कमरेड नागेन्द्र साहको नेतृत्वमा निजगढ गाऊ कमिटी गठन गरिएको थियो ।
लामो समय देखी अलग अलग रहेर आपसमा बाझाबाझ गरिरहेका पार्टीहरूको एकताले निजगढमा नेकपा मालेलाई शक्तिशाली पार्टी वनायो । अव हरेक समस्यामा उसको उपस्थीती आवस्यक हुन थाल्यो । विशेष गरी जनताका न्याय र समानताको चाहको साथी भएर नेकपा माले उदाएको थियो । पार्टीका नेता कार्यकर्ताहरू गरिव दुखिहरूको पिडामा मल्हम भएर काम गर्थे । नेकपा माले देशको राजनितीक परिवर्तन र समाजको उत्थानको ऐना भएर खडा थियो । २०४३ मा आई पुग्दा नेकपा माले निजगढको पहिलो राजनितीक शक्ती भएर स्थानीय निकायमा विजयी भयो । यस्तै संघर्षको भट्टीमा खारीएका देशभरीका जनताले वनाएको पार्टी अहिले नेकपा एमालेको रूपमा छ ।
अहिलेको नेकपा एमाले नेपाली जनताको चानचुने मेहनत र संघर्षले बनेको पार्टी होईन । यो पार्टीलाई जनताको पार्टी बनाएर यहा सम्म ल्याई पुर्याउन मेची देखी महाकाली सम्मका लाखौ योद्धाहरूको रगत र पसिना वगेको छ । सयौ शहिदहरूले आफ्नो जीवनको वली चढाउनु भएको छ । यो वारा पर्सा सहित मध्य तराईको किसान आन्दोलन र विराटनगर , विरगंज, हेटौडा तथा बालाजु औद्योगिक क्षेत्रका मजदुरहरूले वनाएको पार्टी हो । यो पार्टी झापा, मोरङ्गको किसान आन्दोलन र जुगेडीको किसान संघर्षको परिणाम हो । यो पार्टी हर्रे वर्रे संघर्ष र प्युठानका क्रान्तिकारीहरूको योगदानको परिणाम पनि हो । नेकपा एमालेमा नेपाली कम्युनिष्ट आन्दोलनका सवै घटकका क्रान्तीकारी धारहरू सामेल भएका छन । यसमा कम्युनिष्ट पार्टीको स्थापना कालको अनुभव देखी नया युगका अनेक प्रतिभाहरूको अपूर्व संगम छ ।
२००६ सालमा कमरेड पुष्पलालले स्थापना गर्नु भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालको तेश्रो महाधिवेशन पछि छिन्न भिन्न भयो । यसरी विभाजीत कम्युनिष्ट आन्दोलनलाई २०२८ सालमा कमरेड सिपी मैनालीको नेतृत्वमा भएको झापा विद्रोहले आफु तिर आकर्षित गर्न सफल भयो । युवा विद्रोहले स्थापीत गरेको र मोहनचन्द्र अधिकारी, रामनाथ दहाल, वीरेन राजवंशी, केपी ओली र आरके मैनाली समेत रहेको झापा विद्रोहले युवा क्रान्तिकारीहरूलाई आकर्षण र संगठित गर्दै अघि वढ्न थाल्यो । तत्कालीन चिनीया सास्कृतिक क्रान्तीको प्रभाववाट उठेको त्यही कम्युनिस्ट क्रान्तीकारीहरूको विराट स्वरूप नै आजको नेकपा एमाले हो । नेकपाको त्यही क्रान्तीकारी धार सहित को झापा जील्ला कमिटीलाई कमरेड माधव नेपालले मोरङ्ग, जनकपुर र रौतहट हुदै वाकी नेपाल संग जोड्नु भयो । कमरेड झलनाथ खनालले इलाम सहित आफ्नो सम्पर्कमा रहेका कमरेडहरू संग जोड्नु भयो । कमरेड अमृत कुमार बोहोराले सिन्धुपाल्चोक सहित आफ्नो सम्पर्कमा रहेका कमरेडहरू संग जोडेर २०३२ सालमा नेपाल कम्युनिष्ट पार्टी कोअर्डिनेशन केन्द्र ( कोके ) स्थापना गर्नु भयो ।
२०३५ साल सम्म आई पुग्दा कोअर्डिनेशन केन्द्र संग पूर्वको रातो झण्डा समुह , पस्चीमको रातो झण्डा समुह र कमरेड पुष्पलाल संग विद्रोह गरेर आएको मुक्ती मोर्चा समुह सामेल भएर नेकपा मालेको स्थापना गरिएको थियो । मुक्ती मोर्चा समूहबाट कमरेड मदन कुमार भण्डारी, कमरेड जीवराज आश्रीत, कमरेड मोदनाथ प्रश्रित र कमरेड वामदेव गौतम सहितका नेताहरू नेकपा मालेमा सामेल हुनु भएको हो । २०३९ सालमा कमरेड नेत्रलाल अभागीको नेतृत्वमा दाङ शन्देश समुह नेकपा मालेमा एकतावध्द भयो । यस पछि कमरेड ऋषि देवकोटा आजाद को नेतृत्वमा रहेको नेकपा मसाल विद्रोही समुह पनि पार्टीमा गोलबन्द भएको थियो ।
२०४० सालमा नेपाल मजदुर किसान संगठन र नेकपा माले विच एकता भयो । एकतावाट कमरेड डिवी सिह र कमरेड केशव वडाल सहितका कमरेडहरू नेकपा एमालेमा एकतावध्द हुनु भयो । यस पछि कमरेड झलनाथ खनाल नेतृत्वको नेकपा मालेले ०४२ \०४३ सालको राष्ट्रिय पञ्चायत र स्थानिय चुनावमा हस्तक्षेप गर्ने निती अघि सारेर आफुलाई व्यापक जनतामा स्थापीत गरायो । यसले राष्ट्रीय पंचायत सदस्य तथा स्थानीय निकायमा समेत गरी आफ्ना ७ हजार भन्दा वढि प्रतिनिधीहरूलाई विजयी वनाऊन सफल भयो । २०४४ सालमा प्रजातान्त्रिक राष्ट्रीय एकता मञ्च गठन गरेर पंचायत विरोधी आन्दोलनको अगुवाइ गरेको नेकपा मालेले वाममोर्चा निर्माण गरेर प्रजातान्त्रिक आन्दोलनमा नया शक्तीको विकाश गर्न सफल भएको थियो ।
२०४६ सालको जन-आन्दोलन मार्फत देशमा प्रजातन्त्र स्थापना गरेपछि नेकपा मार्क्सवादी र नेकपा एमाले विच ऐतिहासिक एकता भयो । यो एकताले नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनवाट निर्वाचित महासचिव कमरेड मनमोहन अधिकारी, कमरेड पुष्पलालकी धर्मपत्नी कमरेड सहाना प्रधान र जननेता कमरेड मदन भण्डारीले नेतृत्व गर्नु भएको नेकपा मालेका युवा क्रान्तिकारीहरूलाई एक ठाउमा जुटाई दियो । यसले साचो अर्थमा नेपालको कम्युनिष्ट आन्दोलन प्रती नेपाली जनताको भरोसा र विश्वास जगाई दियो । २०४९ साल तिर कमरेड तुल्सीलाल अमात्य र वहाको नेतृत्वमा रहेको पार्टी पनि नेकपा एमालेमा एकतावध्द भयो । यसरी नेकपा एमाले देशकै सव भन्दा ठुलो र शक्तीशाली पार्टी हुदै आएको हो ।
अझ २०५१ सालको आम चुनावमा विजय प्राप्त गरेर आदरणीय कमरेड मनमोहन अधिकारीको नेतृत्वमा एमालेको सरकार वने पछि देशले परिवर्तनको अनुभूती गर्यो । अशल शासकले देशलाई परिवर्तनको दिशा दिन सक्छ भनेर आम जनतामा शन्देश पुर्यायो । यो शन्देशले विभिन्न पार्टीवाट एमालेमा आऊनेहरूको लर्को लाग्न थाल्यो । कमरेड मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको सुधारका कामले पार्टीको लोकप्रीयता ह्वात्तै वढेर गयो । यसले अन्य पार्टीका राम्रा नेता तथा कार्यकर्ताहरू एमालेमा आउने क्रम तिव्र वनायो । नेकपा प्रजातान्त्रिक समुहवाट सितानन्दन राय, जितेन्द्र देव, महेन्द्र राय सहितका तराईमा छरिएर रहेका थुप्रै कम्युनिष्ट कार्यकर्ताहरू एमालेमा जोडिन आउनु भयो । नेपाली काग्रेस र अरू पार्टीवाट समेत एमाले प्रवेश गर्नेहरूको लहर आयो ।
नेकपा २०११ सालमा ऐतिहासिक किसान आन्दोलनको नेतृत्व गरेर आएको पार्टी हो । नेकपाको नेतृत्वमा शहिद मुखलाल महतो सहित हजारौ सदस्यहरूले देश र जनताको निम्ती वलिदान गरेका छन । नेकपा एमाले झापा आन्दोलन का शहिद रामनाथ दहाल, नेत्र घिमीरे, रत्नकुमार वान्तवा र वीरेन राजवंशी जस्ता थुप्रै शहिदहरू, नेत्रलाल पौडेल, ऋषि देवकोटा, प्रेमसिह धामी, जीवराज आश्रीत र मदन भण्डारी जस्ता महान व्यक्तित्वहरूले वलीदान दिएर निर्माण गरेको पार्टी हो । नेकपा एमाले २०३५\०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको संयुक्त जनआन्दोलन र २०६२\०६३ सालको जनक्रान्तीमा वलीदान गर्ने सयौ शहिदहरूको रगतले स्थापीत गरेको पार्टी हो । नेकपा एमालेलाई कसैले पनि आफ्नो निजी सत्ताको आधार र एकल लगानीको प्रतिफल ठान्नु महाभूल हुनेछ ।
नेकपा एमालेले यस विचमा अनेकौ उकाली ओरालीहरू पार गरेको छ । धेरै दुखद घटनाहरू व्यहोरेको छ । विभिन्न समयमा फुट र विभाजनको पिडा सहेको छ । २०४० सालको एकता लगत्तै कमरेड डिवी सिह गलत नितीका कारण नेकपा मालेवाट आफै वहिरीए । २०४७ सालको ऐतिहासिक कम्युनिष्ट एकता पछि पुष्पलाल समुहवाट आउनु भएका कमरेड बलराम उपाध्याय सहित कतिपय पुराना कमरेडहरू लाई पार्टीमा टिकाउन सकिएन । नेपालगन्जमा २०५४ साल मा आयोजित छैठौ राष्ट्रीय महाधिवेशन पछि नेकपा एमालेमा ठुलो विभाजन आयो । महाकाली सन्धी पछि राष्ट्रवादको नाममा भएको यो विभाजनले नेकपा एमालेलाई मात्र होईन देशलाई समेत अनमोल नोक्सानी पुर्याएको थियो ।
२०५४ सालमा कमरेड सहाना प्रधान र कमरेड वामदेव गौतमको नेतृत्वमा पार्टी झण्डै आधा आधी भएर विभाजीत भयो । पछि आएर सवै कमरेडहरू पार्टीमा एकिकृत हुनु भयो । २०६२ /०६३ को जनक्रान्तीको सफलता पछि चलेको मधेश आन्दोलनले प्रभावीत भएर सितानन्दन राय सहितका थुप्रै कमरेडहरू पार्टी छोड्न पुग्नु भयो । संविधान संग जोडिएको संघियताको सवालमा मतभेद जनाउदै कमरेड अशोक राई सहितका कमरेडहरू एमाले परित्याग गरी नया पार्टी वनाउन पुग्नु भयो । यती हुदा हुदै पनि देशमा सुदृढ संगठन र सहि निती भएको सबभन्दा प्रभावशालि पार्टीको रूपमा नेकपा एमाले स्थापीत छ । यसलाई सवै मिलेर अझ सुदृढ र संगठित गर्नु आवस्यक छ ।
दुर्भाग्य नेकपा एमाले यतीवेला एकता र विभाजनको दोसाँधमा छ । एकताको निम्ती भएको १० बुँदे सहमतीमा अझै निखार आएको देखिदैन । यसमाथि शंका र संश्रय कायम देखिन्छ । भनिन्छ सहि नितीले पार्टीलाई गोलबन्द वनाऊदै लान्छ । अशल नेतृत्वले देशलाई एकजुट वनाऊदै लान्छ । गज्जवको कुरा केछ भने " सहि निती र अशल नेतृत्व " भएको नेकपा एमाले आज आफैमा भारी भएको छ । अरूको आशा र सेवामा झुली रहेको अवस्था छ । नेताहरूले आफुलाई महान ठान्ने र आफ्नो विगतलाई विर्सनाले यस्तो भएको हो । जनता र देश प्रतीको कर्तव्यलाई गौण ठानेर निजी स्वार्थमा निर्लिप्त राजनिती गर्नाले यस्तो समस्या पैदा गरेको हो । अवको दिनमा राजनितीको कोर्षलाई ठिक गरेर पुनः राष्ट्रनिर्माण र जनसेवाको साधन वनाउनु पर्छ । जनतालाई केन्द्रमा राखेर काम गर्ने ऑट गर्नु पर्दछ । अनी मात्र सवै समस्या समाधान भएर जान्छन । जनतामा विश्वास वढेर जान्छ । अन्यथा जती जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ हुन्छ । सवैलाई चेतना होस ।



















