पथरी ४ साउन। मोरङको पथरी शनिश्चरे नगरमा आर्थिक वर्ष २०७७÷०७८ मा आर्थिक विकास समिति अन्तर्गत लघु उद्यम विकासका १४ वटा कार्यक्रम योजना सम्पन्न भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको पहिलो वर्षको लागि १९ लाख १४ हजार ५ सय ९० रुपैयाँ बराबरका १४ कार्यक्रम सम्पन्न भएका छन् ।
नगरको वडा नम्बर १, २ र ३ मा समूह गठन गरी सञ्चालन गरिएको कार्यक्रममा नयाँ उद्यमीको विकासतर्फ घरधुरी सर्भेक्षण, पीआरए, सम्भाव्य लघु उद्यमीको पहिचान, उद्यमशीलताको विकास तालिम, प्राविधिक सिप विकास तालिम सञ्चालन भएका छन् ।
जसमा, समूहमा सहभागिको इच्छा अनुसार बाख्रा र बंगुर पालन, सिलाई कटाई, मुढा, ढाका वार्पिङ, पेपर ब्याग, सैलुन, फेस मेकर, सिकुटीको अचार उद्यम कार्यक्रम अघि बढाइएको छ । स्तरोन्नती सहयोग अन्तर्गत पुनर्ताजगी तथा एडभान्स तालिमहरु समेत सञ्चालन भएको घरेलु तथा साना उद्योग शाखा प्रमुख सपना कार्कीले जनाउनु भयो । आवश्यक मेसिन, औजार तथा विउ पूँजीका रुपमा बाख्रा र बंगुरका पाठापाठी समेत वितरण गरिएको छ ।
लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ बमोजिम कार्यक्रम सञ्चालन गर्न नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी ७० प्रतिशत महिला समेत ९० परिवारका लागि यो कार्यक्रम तय भएको थियो । यसका लागि अघिल्लो वर्ष वडा नम्वर ४, ५ र ७ मा सञ्चालन भएको कार्यक्रममा सहभागि ३१ परिवारलाई स्तरोन्नतीको योजना समेत सम्पन्न भयो ।
कार्यक्रमलाई अगाडि बढाउन नगरले वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवाललाई जिम्मेवारी दिएको छ ।



















