पाेखरा/उच्च अदालत पोखराले फेवातालको चारकिल्ला नतोकेसम्म अतिक्रमित जग्गा र त्यसमा बनेका संरचना यकिन हुन नसक्ने प्रस्ट्याएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
तालबाट ६५ मिटरभित्र बनेका संरचना हटाउन महानगरले निकालेको सूचनाविरुद्ध परेको रिटउपर अदालतले मंगलबार आदेश जारी गर्दै प्रस्ट पारेको हो ।
सरोकारवाला विष्णु दाहालसहित २२ जनाले महानगरको सूचनाविरुद्ध बिहीबार उच्च अदालतमा रिट दायर गरेका थिए । अधिवक्ताद्वय कृष्णप्रसाद तिमल्सिना र कपिलमणि दाहालले बहस गरेका थिए ।
विपक्षी पोखरा महानगरपालिका र जिल्ला समन्वय समितिको तर्फबाट अधिवक्ताद्वय कमलप्रसाद अर्याल र भगवती पहारीले बहस गरेका हुन् ।
दुवै पक्षको बहसपछि उच्च अदालतका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश विनोदप्रसाद शर्माको संयुक्त इजलासले पोखरा महानगरपालिकाको १५ दिने सूचना कार्यान्वयन हुन नसक्ने देखिएकाले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेको छ ।



















