काठमाडौं, ११ साउन । बागलुङका ३४ वर्षे युवकले पटक पटक प्रतिलिपि भन्दै नक्कली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि भनेर निकालिएका नागरिकतामा आफू अनुकूल विवरण सच्चाएको देखिएपछि बागलुङ, पाण्डवखानीका गोर्खा थापा शंकाको घेरामा तानिएका हुन् ।

नागरिकताको प्रतिलिपिमा नाम गोर्खा र बाबु धनबहादुरको थर थापा उल्लेख छ । उनले पहिलो पटक २०६२ असार ८ गते जिल्ला प्रशासन कार्यालय,बागलुङबाट नागरिकता लिएका हुन् । त्यतिबेला नागरिकतामा थर सुनार उल्लेख थियो । तर,११ वर्षपछि २०७३ मंसिर १६ गते त्यहि कार्यालयबाट झिकिएको दास्राे प्रतिलिपिमा थर फेरेर थापा बनाइएको छ । उनले यसअघि पनि पहिलाे प्रतिलिपि लिएकाे अभिलेखबाट पुष्टि भएकाे छ ।

प्रतिलिपि भनेको पहिले बनाइएको कागजातको हुबहु विवरण लेखिने नयाँ कागजात हो । त्यसमा कुनै पनि विवरण सच्याउन पाइँदैन । तर,२०४४ चैत २७ गते बागलुङ, पाण्डवखानी गाविसमा जन्मेका धनबहादुर सुनारका छोरा गोर्खा सुनारको थर सच्चिएर थापा भएपछि उक्त रहस्य बाहिर आएको हो । उनको प्रतिलिपि नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत रोशन अर्यालले दस्तखत गरेका छन् ।

तर,उनै गोर्खा जन्मेको गाविसको पाण्डवखानी माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेपछि प्राप्त प्रमाणपत्रमा आफ्नो थर सुनार उल्लेख भएको पाइन्छ । उनले त्यहि विद्यालयबाट १२ कक्षा उत्तिर्ण भएपछि लिएको चारित्रिक प्रमाणपत्रमा पनि नाम र थर गोर्खा सुनार नै उल्लेख छ ।

एसएलसी र १२ कक्षा उत्तिर्णको दुबै प्रमाणपत्रमा गोर्खा सुनारको बाबुको नाम धनबहादुर सुनार लेखिएको छ । तर, पछि लिइएको नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा छोरा र बाबु दुबैको थर थापा बनाएपछि गोर्खा नक्कली नागरिकताको प्रकरणमा तानिएका हुन् ।

गोर्खा सुनार उर्फ गोर्खा थापा तिनै व्यक्ति हुन्,जो ललितपुरको भीआईपी एरिया भनिमण्डलमा बस्छन् । उनी बस्ने घर एउटा तिब्बतीको रहेको बताइन्छ । उनले आफूले मात्र नागरिकता परिवर्तन गरेको नभई धेरै जना तिब्बती शरणार्थीलाई समेत नेपाली नागरिकता उपलब्ध गराएकोमा सिआइबीले छानबिन गरिरहेको स्रोतले दाबी गरेको छ ।

मर्सिडिज २०२० मोडलको करोडौं रुपैयाँ मूल्य पर्ने गाडी चढ्ने गोर्खाको आम्दानीको मुख्य स्रोत केही देखिँदैन । तर पनि उच्चस्तरको लाइफस्टाइलका कारण आम्दानीको स्रोतबारे समेत सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेको बताइन्छ ।

नेपालमा रातारात कमाउनेहरुले नागरिकतासमेत तलमाथि पार्ने गरेको यो ज्वलन्त नमूना हो भनिन्छ ।