पथरी,१५ साउन । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले लुथरन विश्व फेडेरेशनमार्फत भूटानी शरणार्थी प्रभावित क्षेत्र अन्तर्गत मोरङको पथरी शनिश्चरेमा कृषि तथा पशुपालन परियोजना सञ्चालनका क्रममा आज बंगुर वितरण गरेको छ ।
पथरी शनिश्चरे १० को ऐयावारीस्थित जागृति टोलमा शरणार्थी र स्थानीयको गरी २ वटा समूहमा ६० वटा बंगुर पाठापाठी र २ वटा विउ वीर प्रदान भएको छ । लुथरनमार्फत लिजमा जग्गाको व्यवस्थापन गरि खोर निर्माण गरिएको सो स्थानमा लुथरनका प्रतिनिधि नरेन्द्र निरौलाका साथै नगर उपप्रमुख यमुना विष्ट वास्तोला, न्यायिक समिति सदस्य पर्शुराम न्यौपाने, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, शाखाका पर्वत शाह सहितको उपस्थितीमा बंगुर वितरण भएको हो ।
५ जनाको दरले समूह निर्माण गरी विपन्न समुदायका लागि बंगुर पालन कार्यक्रम प्रदान गरिएको छ । नगरका ४ वटा समूहका लागि बंगुर वितरण कार्यक्रम अन्तर्गत १० नम्बर वडाकै जिरिखिम्तीमा रहेको २ वटा समूहलाई ६२ वटा बंगुर वितरण गर्ने अवको कार्यक्रम रहेको लुथरनले जनाएको छ ।
वडा नम्बर १० मा रहेका शरणार्थी तथा सो वडा र आसपासका आर्थिक विपन्न स्थानीय समुदायको जीवनस्तर सुधार गर्न ‘भूटानी शरणार्थी र स्थानीय समुदायका लागि कृषि तथा पशुपालन परियोजना’ तय भएको छ । युएनएचसीआरले १ करोड ३८ लाख ९६ हजार रुपैयाँ बजेटमा वडा नम्बर १०, ९ र ४ मा गरी साढे ८ विगाहा जग्गा व्यवस्थापन गरेर बाख्रा, बंगुर, कुखुरा पालन तथा सागसब्जी र च्याउ खेतीको कार्यक्रम अघि बढाइएको छ ।



















