✍️ भूमिप्रसाद पाठक

पथरी, साउन १८ गते । पथरी शनिश्चरे नगरपालिका अवस्थित श्री पञ्चायत मावि, बुद्धचौक, पथरीले बौद्धिक अशक्त अपांग विद्यार्थीका लागि सम्पूर्ण सुविधा सहितको आवासीय भवन निर्माणकार्यको दोस्रो तलको ढलाइकार्य आज सम्पन्न गरेको छ ।

प्रदेश सरकारद्वारा प्रदेशकै नमुना विद्यालयको रूपमा प्रवर्धित यो पञ्चायत माविले पूर्वाधार विकास, भौतिक विकास, बहुपयोगी शैक्षिक कार्यक्रम, सीप प्रवर्धन र यसमार्फत रोजगारी सिर्जनाका क्षेत्रमा दर्जनौं कार्य गरेसँगै पछिल्लोपटक यो भवन निर्माणको कार्यलाई कोरोना संक्रमणका बावजुद निरन्तरता दिइएको विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार अशक्त पनि बौद्धिक अपांग न्युनतम् २ सय जना विद्यार्थीलाई चाहिने आवश्यकीय सम्पूर्ण पूर्वाधार सहित तयार हुने लागेको यस्तो प्रकृतिको विद्यालय प्रदेशमा मात्र होइन, देशमै एकाधमध्ये यो पनि एउटा हुनुपर्छ ।

पञ्चायत माविको यो प्रगतिलाई सामाजिक सञ्जालमार्फत ‘हाम्रो गहना : स्थानीय गौरव’ को अर्थ्याउनुभएका विद्यालय व्यवस्थापन समिति सदस्य युवराज बास्कोटाले सामुदायिक विद्यालय विकास क्षेत्रअन्तर्गत शैक्षिक उन्नयनका लागि मोफसलमा रहेको पञ्चायत नमुना माविले प्राप्त गरेको यो प्रगति कार्यान्वयनले अब पथरीलाई क्रमशः एउटा राम्रो शैक्षिक–केन्द्रका रूपमा विकास गर्न सकिने आधार तयारी हुँदै गएको विश्वास व्यक्त गर्नुभयो ।

निर्माणकालमा अहोरात्र खटिनुभएका प्राचार्य बुढाथोकीका अतिरिक्त ढलाइकार्यमा विद्यालय व्यवस्थापनका पदाधिकारी आइताकुमारी तुम्बापो राई, गणेश खड्का, मोहनकुमार तुम्बापो, युवराज बास्कोटा, अमीर राई, टेकेन्द्र पौडेल, महेन्द्र ढुंगाना, सहायम प्रख बिना राईं, शिक्षिका मेनुका राईंलगायत दर्जनौं सामाजिक एवं शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । निर्माणकार्य पाउँ पाथीभरा दमकको अत्याधुनिक औजारहरूको प्रयोगबाट भएको छ ।