✍️ प्रेमलकुमार खनाल

विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादविरुद्ध वैचारिक संघर्ष गर्ने क्रममा कम्युनिस्ट पार्र्टीभित्र अन्तरसंघर्ष हुँदै आएको छ । अन्तरसंघर्षका माध्यमबाट त्यो दक्षिणपन्थी अवसरवादी सोच प्रवृत्तिको अन्त्य हुनको सट्टामा पार्टीलाई कब्जा गर्न थाल्यो र क्रान्तिकारी र माक्र्सवादी विचार पक्षधरहरूले चलाएको अन्तरसंघर्ष अगाडि बढ्न सकेन भने ठीक यहीँ बिन्दुबाट विद्रोह, विघटन, पुनर्गठन र सच्चा क्रान्तिकारीबीच एकता र एकीकरणको प्रक्रियाबाट अगाडि बढ्दै आएको पाइन्छ । स्वयं माक्र्स र एंगेल्सले कम्युनिस्ट लिगभित्र अन्तरसंघर्ष सञ्चालन गरेका थिए । तर, संशोधनवादीहरूले कम्युनिस्ट घोषणापत्रको आलोचना र विरोध गर्न थाले । कम्युनिस्ट लिगका माध्यमबाट कम्युनिस्ट घोषणापत्रको प्रचारप्रसार गर्न अवरोध सिर्जना गरेको परिणाम स्वरूप माक्र्सले कम्युनिस्ट लिग नै विघटन गरेको घोषणा गरेर प्रथम कम्युनिस्ट इन्टरनेसनल गठन गरेका थिए । प्रथम इन्टर नेसनलभित्र पनि यस्तै संशोधनवादीहरू हावी भएपछि विघटन भयो र दोस्रो इन्टरनेसनल गठन भयो । फेरि दोस्रो इन्टरनेसनलभित्र पनि संशोधनवादी, दक्षिणपन्थीहरूले गडबडी सिर्जना गरेपछि लेनिनले दोस्रो इन्टरनेसनललाई पनि विघटन गरेर तेस्रो इन्टरनेसनल गठन गर्नुपरेको थियोे ।

2021-08-16-22 1

✍️ प्रेमलकुमार खनाल

नेपालमा पनि कम्युनिस्ट आन्दोलनमा दोस्रो महाधिवेशन पछि कम्युनिस्ट पार्टीभित्र केशरजंग रायमाझी पार्टीको नेतृत्वमा पुगे । उनले दक्षिणपन्थी बाटो लिए । राजा परस्त भएर २०१७ को फौजी कदमको विरोध गरेन । अर्थात् उनी रोयल कम्युनिस्ट बने । तेस्रो महाधिवेशनले उनलाई पार्र्टीबाट निकालिदियो र पुष्पलालले २०२५ सालमा नयाँ जनवादी क्रान्तिको कार्यक्रमका साथ पार्र्टीलाई पुनर्गठन गरे । ३० को दशकपछि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी स्प्रिटबाट अगाडि बढाउन झापा संघर्ष भयो । पार्टी पुनर्गठनका क्रममा (कोअर्डिनेसन केन्द्र हुँदै नेकपा माले पार्र्टी गठन भयो भने अर्को धारका रूपमा केन्द्रीय न्युक्लियस हुँदै चौथो महाधिवेशनबाट मसाल, माले र माक्र्सवादी मिलेर एमाले, मसालबाट एकता केन्द्र हुँदै माओवादी केन्द्र हुँदै माओवादी केन्द्र र एमालेबीचको एकताबाट नेकपा गठन भयो । तर, एमाले र माओवादीबीच भएको यो एकता टिक्न सकेन ।

एकता आत्मकेन्द्रित, पद केन्द्रित, पार्र्टी अध्यक्ष र प्रधानमन्त्री पद प्राप्तिका लागि भएकै कारण नेतृत्वले एकता टिकाउन चाहेन । नेपालको इतिहासमा नै वामपन्थीले पाएको दुई तिहाइको जनादेशलाई सरकारमा पुगेर पार्र्टीको नीति, सिद्धान्त, कार्यक्रमबाट भन्दा पनि नवउदारवादी नीतिलाई नै पछ्याउँदै दलाल पुँजीवादलाई नै प्रोत्साहन दिने हिसाबले सरकारले गतिविधि सञ्चालन ग¥यो । सरकारले पार्र्टीसँग कुनै परामर्श, सल्लाह, सुझाव र निर्णय नगरी बजेट ल्याउने, पार्र्टीको जानकारी र संस्थागत सिफारिसबिना व्यक्तिगत तवरले राजनीतिक, कूटनीतिक अंगमा नियुक्ति गरेर राज्यसत्तामा आफ्नो व्यक्तिगत पकड गर्ने ढंगबाट काम भए । यी सबै कामको पार्टीभित्र समीक्षा भएन । सरकारका काममा भएको कमीकमजोरीलाई सुधार गर्न पार्टी पंक्तिबाट कुरा उठे पनि नेतृत्वले सुनुवाइ गरेन । पार्र्टीको जानकारीबिना विदेशी गुप्तचर संस्थाका प्रमुखसँगको गोप्य भेटघाट, एमसीसीजस्तो राष्ट्रिय हितविपरीत सम्झौता पारित गराउन सरकारले चालेका कदमले पनि सरकार विदेशीको समेत सहारामा उल्टै पार्र्टीको सल्लाह, निर्णय, जानकारी बिनासार्वभौम प्रतिनिधि सभा विघटन गरेर अलोकतान्त्रिक र असंवैधानिक गतिविधि सञ्चालन भयो ।

एकीकृत समाजवादी पार्टीले लोकतान्त्रिक मूल्यमान्यतासहितको वैज्ञानिक समाजवादको लक्ष्यलाई अगाडि सारेको छ

संसद् विघटन गरेर अध्यादेशबाट शासन सञ्चालन गर्ने दिशामा सरकार अगाडि बढेपछि पार्र्टीको नेतृत्वले गरेको असंवैधानिक कदमविरुद्ध पार्र्टी पंक्तिभित्रबाट विरोध भयो । सरकारले दुई तिहाइको विश्वास गुमायो । वामपन्थीको सरकार कायम गर्न नेतृत्वले नयाँ विकल्पका साथ पार्र्टीभित्र कुनै छलफल नगरी एक्कासि पुनः दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि प्रतिनिधि सभाका सांसदले पुनस्र्थापनाका लागि रिट दायर गर्नुप¥यो । अदालतले प्रतिनिधिसभा विघटनको निर्णय गलत भएको भन्दै पुनस्र्थापना गरिदियो । र अहिले पाँच दलको समर्थनमा गठबन्धनको सरकार गठन भएको छ । यसरी असंवैधानिक कदम चालेपछि दुई तिहाइको जनमत प्राप्त वामपन्थी सरकारको बहिर्गमन भएको छ ।

यता एमालेभित्र फागुन २८ गते अध्यक्ष केपी ओलीले ९० जनाभन्दा बढी केन्द्रीय सदस्यलाई कुनै जानकारी नगराई आफ्नो गुटका मात्र सदस्यको बैठक बसेर पार्टीको विधानविपरीत निर्णय गर्दै अगाडि बढेपछि एमालेभित्र स्पष्टतः दुई समूहका समानान्तर गतिविधि अगाडि बढे । दुई समूहबीच फेरि एकता कायम गर्न कार्यदल गठन भयो । कार्यदलले १० बुँदे प्रतिवेदन त तयार ग¥यो । तर, यो १० बुँदे प्रस्तावले नेतृत्वले यस अगाडि पार्र्टी र सरकार सञ्चालन गर्दा गरेका कमीकमजोरी केलाउने वा समीक्षा गर्ने कुरा उल्लेख गर्न सकेन । प्रतिनिधि सभा विघटनको कदम गलत थियोे भन्ने स्वीकार गर्न सकेन र अब उप्रान्त असंवैधानिक तवरले संसद् विघटन नहुने कुराको सुनिश्चित गर्न सकेन र पार्टीभित्र दुई समूहबीच शक्ति सन्तुलन हुनेगरी अधिकारको सुनिश्चित गर्ने विषयमा छलफल गरी निष्कर्ष निकाल्न सकेन । केबल कार्यदलले प्राविधिक एकताको मात्रै कुरा गरेर सिद्धान्त, विचारमा नेतृत्वको दक्षिणपन्थी सोच र वैचारिक विचलनलाई सुधार गर्ने र गराउने कामलाई बेवास्ता गर्ने काम ग-यो ।

कातिर पार्टी एकताको कुरा गर्ने अर्कोतिर भटाभट पार्टी नेतालाई कारबाही गर्ने गतिविधि तीव्र रूपमा अगाडि बढे । यस्तो स्थितिमा हिजो नेतृत्वको व्यक्तिवादी प्रवृत्तिको विरोध गर्ने र प्रतिगमन विरोधी आन्दोलनको नेतृत्व गर्ने केही व्यक्तिसमेत मध्यमपन्थीका रूपमा देखाप-यो । जे जसरी पनि पार्टी एकता हुनुपर्ने खालको विचार अगाडि सारेर पार्टीभित्र सिद्धान्त, विचार, संगठनात्मक विचलनलाई बेवास्ता गर्ने काम ग¥यो । वास्तवमा मध्यमपन्थी सोच लिने प्रवृत्तिले दक्षिणपन्थी सोचविरुद्ध सशक्त संघर्ष गर्न सक्तैन, यो प्रवृत्ति मूलतः आत्मकेन्द्रित हुन्छ । संसदीय राजनीतिकै गोलचक्करमा घुमिरहन्छ । मान, सम्मान, लाभ, अवसर, पद, हैसियत र अवसर गुमाउन चाहँदैन । पार्टी दक्षिणपन्थी भासमा चुर्लुम्म डुबिरहेको र यही प्रवृत्तिले पार्टी नेतृत्वमा पकड जमाउँदै लगेको स्थितिमा मध्यमपन्थी जब एकताको मात्रै नारा लगाएर बस्न थाल्छ, फेरि दक्षिणपन्थी प्रवृत्ति नै पार्टीभित्र हावी हुन थाल्छ । वास्तवमा अहिले एमालेभित्र यही स्थिति देखापरेको छ ।

अन्तरसंघर्ष गर्ने क्रममा अहिले उत्कर्षमा पुगेर पार्टीभित्रका क्रान्तिकारीले विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामको नयाँ कम्युनिस्ट पार्टीको गठन भएको छ । यो पार्टी निर्वाचन आयोगमा दर्ता भएर राजनीतिक दलको मान्यता पाएको छ । र अब संसद्भित्र पनि यो पार्टीले चौथो दलको हैसियतको मान्यता पाउने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना मुलुकको कम्युनिस्ट आन्दोलनमा नयाँ परिघटनाका रूपमा देखापरेको छ । नेकपा एमालेले नवौं महाधिवेशनबाट सही नीति र कार्यदिशा लिएको भए पनि अध्यक्ष केपी शर्मा ओलीले नवौ महाधिवेशनबाट पारित भएको कार्यदिशालाई आत्मसात् गरेर पार्टी सञ्चालन नगरिकन व्यक्तिवादी, सर्वसत्तावादी, गैरमाक्र्सवादी एवं दक्षिणपन्थी बाटोबाट पार्टी सञ्चालन गरेका कारण विगत सात वर्षदेखि एमालेभित्र उत्पन्न समस्याको शृंखलाबद्व घटनाको परिणामस्वरूप आज एमाले समस्याग्रस्त बन्न पुग्यो ।

सारमा राष्ट्रियताको संरक्षण र संवद्र्धन, लोकतन्त्रको सुदृढीकरण र जनजीविकाको सुनिश्चितताका लागि पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्दै अगाडि बढन सके यो पार्टी नेपालको कम्युनिस्ट आन्दोलन, समाजवादी आन्दोलन, लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्ने पार्टीका रूपमा स्थापित हुनेछ ।

एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा एमालेभित्र उत्पन्न शृंङखलाबद्ध समस्याबारेमा पद्धति संगत ढंगबाट समाधानका लागि नेतृत्व तयार हुनको सट्टा पार्टीको नेतृत्व कब्जा गरेर एकछत्र ढंगबाट व्यक्तिवादी तवरले पार्टी सञ्चालन गरेपछि एमालेभित्र उत्पन्न समस्या समाधान नहुने भएपछि पार्टीलाई क्रान्तिकारी ढंगबाट अगाडि बढाउन र मुलुकमा समाजवादी क्रान्ति गरेर समाजवादको आधार निर्माण गर्न अगुवाइ गर्ने पार्टी निर्माण गर्नुपर्ने जुन आवश्यकता थियोे, त्यसैको परिणामस्वरूप विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आफ्नो स्थापनाको उद्देश्यबारे घोषणापत्रको मस्यौदामा यसरी उल्लेख गरेको छ, नेकपा एकीकृत समाजवादी पार्टी सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालदेखि जुन लक्ष्य उद्देश्य राखेको थियो । ती लक्ष्य उद्देश्य नै यस पार्टीका लक्ष्य उद्देश्य हुन् । नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने र समाजमा रहेका सबैखाले विभेदको अन्त्य गर्ने यो पार्टी ती सबै लक्ष्य प्राप्तिको संघर्षमा डटिरहन प्रतिबद्ध छ भनी मस्यौदामा उल्लेख गरिएको छ ।

पार्टी स्थापनाबारेमा थप अगाडि भनिएको छ, नेपाल कम्युनिस्ट पार्टीले आफ्ना लक्ष्य, उद्देश्य प्राप्त गर्ने ध्येयमा अगाडि बढ्ने क्रममा संघर्षका शान्तिपूर्ण र सशस्त्र दुवै रूपहरू अवलम्बन गर्दै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको प्रत्याभूतिका लागि भएका विभिन्न प्रकारका जनआन्दोलन र क्रान्तिमा जुन भूमिका निर्वाह ग¥योे त्यही ऐतिहासिक भूमिका निर्वाह गर्ने नेपाल कम्युनिस्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी संस्था हो । वर्तमान नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (समाजवादी) भनेर उल्लेख गरिएको छ ।

नेकपा एकीकृत समाजवादीले तात्कालिक लक्ष्यबारे आफ्नो घोषणापत्रमा यसरी उल्लेख गरेको छ । २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपाली क्रान्तिले एउटा चरण पार गरेर अर्को चरणमा प्रवेश गरेको छ । नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको बन्न पुगेको छ । यतिबेलाको नेपाली समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवादी हो र त्यो दलाल नोकरशाही चरित्रको छ । त्यसैले क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमान्यतासहितको समाजवादका आधार निर्माण गर्ने यस पार्टीको तात्कालिक लक्ष्य हुने उल्लेख गरेको छ । दलाल नोकरशाही पुँजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपविरुद्ध संघर्ष गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्नु र सामन्तवादको अवशेषका रूपमा रहेका विभेद, कुरीति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति सामाजिक सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु यस पार्टीका तात्कालिक मुख्य कार्यभार हुने उल्लेख गरेको छ ।


यस पार्टीले रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्यमान्यतासहितको वैज्ञानिक समाजवादको लक्ष्यलाई अगाडि सारेको छ । यस पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने र समाजवादका आधार निर्माणको विस्तृत कार्यक्रम तयार गरी आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गरिने उल्लेख गरेको छ । मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं सार्वभौमिकताको रक्षा गर्दै राष्ट्रिय एकता तथा सद्भाव अभिवृद्धि गरिने उल्लेख गरिएको छ ।

यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने उल्लेख गर्दै माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हुने उल्लेख गरिएको छ । आजको परिस्थितिमा माक्र्सवाद प्रयोगका पुराना मोडेलको अनुकरण गरेर होइन मुलुकको विशिष्ट परिस्थिति अनुरूपको विचार अँगालेर क्रान्तिकारी व्यवहार गरियो भने मात्र सफलताका साथ अगाडि बढ्न सकिने मान्यतालाई अगाडि सारेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी जनआधारित कार्यकर्ता पार्टी भएको उल्लेख गरिएको छ । यसको संगठनात्मक सिद्धान्त अर्थात् पार्टी निर्माण र सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त हुने, यस पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात् आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन हुनेछ । यो पार्टी नेता प्रधान होइन नीति प्रधान हुनेछ । पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको कार्यपद्धति अवलम्बन गरिनेछ । व्यक्ति कमिटीको मातहत रहने र अल्पमत बहुमतको मातहत रहने तथा तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने पद्धति अवलम्बन गरिनेछ । सबै पार्टी कमिटी र जनसंगठन सोहीअनुरूप संगठित र परिचालित हुनेछन् । पार्टीको सार्वभौम अधिकार पार्टीका संगठित सदस्यमा निहित रहनेछ । यसको प्रयोग पार्टी विधानअनुसार हुनेछ । पार्टीको संगठनात्मक संरचना मुलुकको संघीय संरचना अनुरूपको हुनेछ । सबै पार्टी कमिटी समावेशी चरित्रका हुनेछन् । हरेक पार्टीको एउटा महŒवपूर्ण हिस्सामा ४० वर्षमुनिका युवालाई राखिनेछ । यस पार्टीका सदस्यहरूले सामाजिक आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि उत्पादन संघर्ष र वर्ग संघर्षमा सामेल हुँदै विचार, संगठन, संघर्ष र सिर्जनशीलताका क्षेत्रमा अग्रणी भूमिका खेल्नेछन् ।

उनीहरू जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहनेछन् । पार्टीका सम्पूर्ण सदस्य मुलुकको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक र क्रान्तिकारी सारतहत्वका साथ अघि बढाउँदै नेपाली क्रान्तिका निर्दिष्ट लक्ष्य र उद्देश्य प्राप्त गर्न जनआधारित, सुसंगठित, एकताबद्ध, अनुशासित, गतिशील र जुझारु हुनेछन् र अग्रगामी राजनीतिक भूमिका निर्वाह गर्दै अघि बढ्न दृढ संकल्पित रहनेछन् । यो पार्टी सबै खाले प्रतिक्रियावाद, अवसरवाद र संकीर्णतावादविरुद्ध तथा सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको पक्षमा रहेको छ । आमजनसमुदायसँग घनिष्ठ सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, असमानता र विभेदको समाप्तिका लागि संघर्ष गर्नु र निःस्वार्थ रूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीको कर्तव्य हुने उल्लेख गरिएको छ ।

यस पार्टीलाई साँच्चिकै क्रान्तिकारी पार्टीका रूपमा विकास र रूपान्तरण गरेर राष्ट्रव्यापी रूपमा विकास र विस्तार गर्ने अवसर रहेको छ । अबको मुलुकको कार्यभार भनेको समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने रहेको सन्दर्भमा क्रान्तिको नयाँ कार्यक्रम तय गर्नु, तदनुरूप पार्टी निर्माण, पार्टीलाई माक्र्सवादी र क्रान्तिकारीकरण गर्न पार्टीभित्र सघन ढंगबाट वैचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर माक्र्सवादी विचारले लेस नेता कार्यकर्ता उत्पादन गर्नु, पार्टीलाई जनसेवामा समर्पित गर्न टोलबस्तीसम्म पार्टीको संरचना निर्माण गर्नु, पार्टीभित्र कार्यसम्पादनका आधारमा कार्यकर्ताको मूल्यांकन गर्ने परिपाटीको थालनी गर्नु, पार्टी र जनसंगठनलाई समुदायले भोगेका समस्या समाधान गर्न अगुवाइ गर्ने संगठनका रूपमा स्थापित गर्नु, पार्टीभित्र जनवादी अभ्यासलाई बढावा दिएर लोकतान्त्रिक, क्रान्तिकारी र अनुशासित पार्टीको रूपमा सञ्चालन गर्नु, नेतृत्व विकास, हस्तान्तरणसँगसँगै पार्टीभित्र युवा पंक्तिलाई समेटेर समाजवादी क्रान्तिको अभियानमा लामबद्व गराउने कामले नै पार्टी स्थापित भएर जानेछ ।

यसका साथै कम्युनिस्ट आन्दोलनलाई एकताबद्व बनाउन पहल गर्नपर्छ । यसका लागि कम्युनिस्ट पार्टीहरूसँग सहकार्य र एकता गरेर जनसेवा गर्दै हिजो जनताबाट विश्वास प्रकट गरिएको वाम जनमतलाई फेरि नयाँ उचाइ जनविश्वास कायम गर्नेगरी भूमिका निर्वाह गर्नुपर्छ । सारमा राष्ट्रियताको संरक्षण र संवद्र्धन, लोकतन्त्रको सुदृढीकरण र जनजीविकाको सुनिश्चितताका लागि पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्न सके यो पार्टी नेपालको कम्युनिस्ट आन्दोलन, समाजवादी आन्दोलन, लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्ने पार्टीका रूपमा स्थापित हुनेछ ।