भारतको केरलमा एक महिला पुलिस अधिकारीमाथि चक्कुले हमला गरेर उनलाई जिउँदै जलाएको घटना सार्वजनिक भएको छ । शनिबारको उक्त हमलामा महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।

उनीमाथि हमला गर्ने ट्राफिक पुलिसको सिपाही हुन् । घटनाको क्रममा उनीपनि ५० प्रतिशत जलेका छन् । आरोपी पुलिसकर्मी अलप्पुझा मेडिकल कलेजको आईसीयूमा भर्ना छन् । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । मीडिया रिपोर्टका अनुसार ३२ वर्षकी सौम्या पुष्करन सिभिल पुलिस अधिकारी थिइन् । उनी अलप्पुझा जिल्लाको वल्लिकुन्नम पुलिस स्टेशनमा तैनात थिइन् ।

एक पुलिस अधिकारीले दिएको जानकारी अनुसार सौम्या पुलिस क्याडेट क्याम्पबाट ड्यूटीपछि घर फर्किरहेका बेला उक्त घटना भएको हो ।भारतीय संचार माध्यमका अनुसार घटना अघि मावेलिक्करा इलाकेमा आरोपी सिपाही एजाजले सुरुमा उनकी कारलाई स्कूटरले ठक्कर दिए । जब सौम्याले कारबाट निस्किएर भाग्ने कोसिस गरिन् तब आरोपीले उनलाई चक्कुले थुप्रै पटक हमला गरे । त्यसपछि पेट्रोल हालेर आगो लगाइदिए ।

सौम्या तीन सन्तानकी आमा थिइन् । श्रीमान् कामको सिलसिलामा विदेशमा भएको बताइन्छ । पुलिसका अनुसार हमलामा सौम्याको तत्काल मृत्यु भयो । महिला अधिकारीको घाँटीमा चाकूको निशान पनि भेटिएको जानकारीमा उल्लेख छ । घटनामा आरोपी सिहापी पनि निकै जलेको बताइन्छ ।