✍️ आचार्य अमृत 

शब्दबाट नै अर्थ स्पष्ट छ, शब्दकोश शब्दहरूको कोष वा भण्डार हो जसमा अधिकतम शब्दहरूको प्रविष्टि हुन्छ र ती प्रत्येक शब्दको हुनेसम्मका अर्थ दिइएका हुन्छन् । शब्दकोशको अर्को विशेषता भनेको शब्दहरूको वर्णविन्यास (spelling ) हो । कुनै शब्दको शुद्ध लेख्य रूप के होला भन्ने शङ्का लाग्यो भने हामी शब्दकोश पल्टाएर हेर्छौँ वा शब्दकोश डाउनलोड गरिएको छ भने मोबाइल खोलेर हेर्छौँ र त्यसबारे स्पष्ट हुन्छौँ । त्यसैले भाषिक शुद्धताका लागि शब्दकोशको पनि व्याकरणको जत्तिकै महत्त्व रहेको हुन्छ । यी सबै कुरा हामीले बुझ्दै आएका पनि छौँ ।

एउटा समस्या विशेषत: नेपाली भाषाका सन्दर्भमा के अनुभूत हुने गरेको छ भने हामीसँग अनेक कोशकारहरूले तयार गरेका शब्दकोश रहेका हुन सक्छन् तथापि केही वर्षयतादेखि केही स्वनामधन्य गुरुहरूका लहडले गर्दा नेपाली वर्णविन्यासमा केही विचलन देखिएको छ तथापि नेपाल प्रज्ञा -प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोश ( दसौँ संस्करण २०७५, पुनर्मुद्रित संस्करण २०७७ ) ले त्यस्ता विचलनहरूको समाधान गर्न खोजेको छ र अहिलेको मानक वा आधिकारिक शब्दकोश नै त्यही हो । प्रज्ञा - प्रतिष्ठानकै पुराना संस्करणहरूमा प्रयुक्त वर्णविन्यास हेरेर निष्कर्ष निकाल्ने स्थिति अब रहेन भलै वर्णविन्यासका सन्दर्भमा धेरै विद्वान्‌हरू आआफ्नै तर्कका आधारमा वर्णविन्यासका बारेमा बोलि नै रहनुभएको छ । उहाँहरूका तर्कको सम्मान गर्दै गरेर पनि हामी सर्वसाधारणले केही लेख्नुपर्‍यो भने समसामयिक मानक शब्दकोशलाई नै आधार बनाउनुपर्ने हुन्छ, यो हाम्रो बाध्यता हो ।

यिनै कारणहरूले गर्दा मैले आजसम्म नेपाली बृहत् शब्दकोश संस्करणैपिच्छे खरिद गर्दै आएको छु । किन ? उत्तर स्पष्ट छ, नयाँमा केही कुरा थपिएकै हुन्छ, केही कुरामा परिवर्तन गरिएकै हुन्छ । अनि ता पुराना संस्करण अँठ्याएर बसिरहँदा स्वत: पछि परिने सम्भावना भइहाल्छ । अनि त्यसको परिणाम हुन्छ नेपाली बृहत् शब्दकोश किन्नु, किन्नु र किनि नै रहनु । पुराना संस्करणहरू कसैलाई दिऊँ न त भन्दा पनि ती आउट- डेटेड भए भन्ने लाग्न जाँदा दिन पनि नैतिकताले मान्दैन । बाँचुन्जेल यस्ता कोशहरू कति थुप्रिँदै जाने हुन् पत्तो छैन ।