काठमाडौं,५ असार । गत जेठ पहिलो हप्ता मोरङ कानेपोखरीका खेत जोत्ने ट्याक्टरका धनीहरूको संगठन ट्याक्टर व्यवसायी संघ कानेपोखरीको बैठक बस्यो । बैठकले किसानको खेत जोत्दा लाग्दै आएको प्रति घण्टाको ज्याला बढाएर २ हजार २ सय पुर्‍याउने निर्णय गर्‍यो ।

यसअघि प्रतिघण्टा जोतेको १ हजार ७ सय रुपैयाँ ज्याला थियो । इन्धनको मूल्य अत्यधिक बढेसँगै उनीहरुले जोतेको भाडा पनि बढाएका हुन् । ‘प्रतिघण्टा ८ लिटर डिजेल लाग्छ, चालक, सहचालकलाई पारिश्रमिक दिनुपर्छ, मोबिल, सर्भिसिङ चार्ज, डिप्रिसिएसन चार्ज जोड्दा हाम्रो लागत अहिलेको ज्यालाले पनि उठ्दैन,’ ट्याक्टर व्यवसायी संघ कानेपोखरीका अध्यक्ष दुर्गा कार्की भन्छन्, ‘ज्याला वृद्धिले किसानलाई मार परेको छ, गाउँपालिकाले किसानलाई अनुदान दिने हो भने हामी ज्याला घटाउन सक्छौँ ।’ कानेपोखरीमा ५० देखि ६० वटा ट्याक्टर रहेको कार्कीले बताए ।

सरकारको लक्ष्य कसरी पुग्छ ?

सरकारले धानको उत्पादन वृद्धिमा जोड गरिरहेको छ । तर, किसानलाई धान उत्पादनमा लाग्ने न्यूनतम खर्च नै आम्दानीले धान्न मुस्किल देखिन्छ । ट्याक्टरको भाडा, मल, श्रम शक्ति, औषधि, बिउ तथा थ्रेसर लगाउँदासम्मको खर्च जोड्दा मात्रै उनीहरूको उत्पादन र खर्च बराबरी जस्तो हुन आउँछ ।

‘धान लगाउनु भन्दा किन्नु सस्तो हुन्छ,’ कानेपोखरीका किसान हरि मैनाली भन्छन्, ‘१ बिगाहा जग्गामा उत्पादन हुने धान र विक्री मूल्य हिसाब गरे भइजान्छ नि ।’ मैनालीले भनेजस्तै १ बिगाहा जग्गामा धान लगाउने र बाली भित्र्याउने बेलासम्मको ट्याक्टरको भाडा, मल, श्रम शक्ति, औषधि, बिउ तथा थ्रेसर लगाउँदासम्मको खर्च जोड्दा ६३ हजार ६ सय पुग्छ । तर, औसत उत्पादन ८० मनको हुँदा किसानलाई प्रतिमन १ हजार पाउँदा ८० हजार मात्रै आम्दानी हुन्छ । जसबाट खर्च कटाउँदा १६ हजार ४ सय बच्छ । यो बचतबाट किसानले स्वास्थ्य उपचार, बालबालिकाको पढाइदेखि अतिरिक्त खर्च धान्नुपर्ने देखिन्छ । त्यति मात्रै होइन किसानले समयमा मल पाउँदैनन्, बिउ पाउँदैनन् कसरी उत्पादन बढ्छ ? किसानहरूको गुनासो छ । रातोपाटी बाट