काठमाडाैं,१ साउन । काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर अलग-अलग संकलन गर्ने भएको छ ।
नुवाकाेटका स्थानीयसँग गरेको सहमति अनुसार महानगरले आजदेखि साे प्रावधान लागू गर्न लागेकाे हाे । सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ ।
घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग-अलग भाँडोमा मात्र फोहोर संकलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।
अलग-अलग रुपमा संकलन नगरी ल्याएको फोहोर फिर्ता लैजानुपर्ने र कारबाहीस्वरूप नगद जरिवाना समेत तिर्नुपर्ने काठमाडाैं महानगरपालिका कृषि तथा वातावरण विभागले जनाएकाे छ । कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवाना गरिनेछ ।
महानगरले हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको संकलन र व्यवस्थापन गर्नेछ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोरको संकलन तथा व्यवस्थापन गरिने विभागले जनाएकाे छ ।
सम्भव भए कुहिने फोहोरलाई घरमै कम्पोष्ट मल, गड्यौले बनाई आफ्नै करेसा बारीमा वा कौसी खेतीमा प्रयोग गर्ने बानी बसाल्न पनि अनुरोध गरेको छ । नकुहिने फोहोरलाई पनि पुन: प्रयोग गर्ने बानी बसाल्न र कवाडी व्यवसायीलाई बिक्री गर्न मिल्ने भए त्यहाँबाट पनि आय आर्जन गर्ने बानी बसाल्न समेत विभागले आग्रह गरेकाे छ ।
प्लाष्टिकलाई न्यून प्रयोग गरी त्यसको सट्टामा कपडा वा कागजको झोला प्रयोग गर्न पनि विभागले अनुराेध गरेकाे छ ।




















