दिल्ली,५ साउन । भारतमा राष्ट्रपति निर्वाचनका लागि भएको मतदानको मतगणना सुरु हुदैछ । आज बिहान ११ बजेदेखि संसद भवनमा मतगणना सुरु भएको हो ।
संसदको ६३ नम्बर कोठामा मतगणना सुरु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यस हलमा चौबीसै घण्टा मतपत्रको सुरक्षा भैरहेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकारी, राज्यसभा महासचिव पीसी मोदीले जानकारी दिएका छन । महासचिव मोदीले मतगणनाको निरीक्षण आजै गर्ने छन । आजै साँझसम्म निर्वाचनको नतिजा सार्वजनिक हुने सम्भावना रहेको महासचिव मोदीले बताए ।
राष्ट्रपति चुनावको नतिजा आए संगै भारतले आज आफ्नो १५ औं राष्ट्रपति पाउनेछ। राष्ट्रपति पदका लागी भाजपा नेतृत्वको एनडीए उम्मेद्वार द्रौपदी मुर्मु र संयुक्त विपक्षी उम्मेदवार यशवंत सिन्हा बीच प्रतिस्पर्धा छ।
यद्यपि, बीजेपीका उम्मेदवार मुर्मु देशको सर्वोच्च संवैधानिक पदमा बढुवाका लागि बलियो दावेदार हुनसक्छन्। झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मु निर्वाचित भएमा भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति हुनेछिन्। एजेन्सी




















