काठमाडौं,११ साउन । नेपालमा एमसीसी सम्झौता अनुमोदन गराउन शीर्ष नेतालाई फोन गरेर कूटनीतिक दबाब दिएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल लु फेरि नेपाल आउने भएका छन् । उनी भोलि साँझ नेपाल आउने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने औपचारिक निर्णय गरेको र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको अवस्थामा लुको भ्रमण हुन लागेको हो । यहाँ रहँदा उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ ।
एमसीसी सम्झौता अनुमोदनलाई लिएर राजनीतिक दलहरु बिच बिबाद चर्किएका बेला गत मंसिर १ गते लु नेपाल आएका थिए।
लु नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल एसपीपीमा सहभागी नहुने क्याबिनेटले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै कारण माग गरेको छ ।


