काठमाडौं,१३ साउन । नागरिकप्रति सरकार पूर्णत गैरजिम्मेवार बन्दा मुलुकमा हत्या, हिंसा र बलात्कार जस्ता जघन्य घटना ह्वात्तै बढेर गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाणसम्म नागरिकको सुरक्षामा फिटिक्कै ध्यान नदिँदा दैनिक यस्ता घटना बढन थालेका हुन ।
प्रहरीकै तथ्यांकअनुसार शुक्रवार मात्रै तीन युवतीको बलात्कार र एक युवतीको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । लम्जुङ, महोत्तरी र सिरहामा यस्ता जघन्य अपराधका घटना भएका हुन । प्रहरीका अनुसार लमजुङमा बिबाहको अस्वीकार गर्दा सुन्दरबजार नगरपालिका– १ कुन्छामा एक २८ वर्षीया युवतीको बलात्कारपछि हत्या भएको छ ।
स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ ।
उहाँका अनुसार घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही स्थानका सुनार र अछामीबीच विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको पाइएको छ ।
साउन १० गते मंगलबार साँझदेखि बेपत्ता भएकी लीला अछामीको बिहीबार दिउँसो खड्केपानीस्थित सामुदायिक वनमा शव भेटिएको थियो । बोल्न नसक्ने र कान पनि नसुन्ने अछामी लेख्न र सांकेतिक भाषामा कुरा गर्न जान्दथिइन् ।
सुनारले मंगलबार राति भेट्न बोलाई युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए । शारीरिक सम्बन्धपछि युवतीले आफूसँग विवाह गर्न भनेपछि सुनारले हत्या गरेका बताइएको छ ।
मंगलबार ४ बजेतिर घरनजिकै रहेको दिदीको घर गएर साँझ ६ बजेतिर दिदीको घरबाट निस्केकी उनी अबेरसम्म घर नपुगेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
आफू विवाहित भएकाले आफूहरूको सम्बन्धबारे समाजमा हल्ला हुने डरले सुनारले अछामीको घाँटी च्यापेर लडाएका थिए। तल भिरको खोँचमा पल्टाएर ढुंगाले टाउकोमा प्रहार गरी निर्मम तरिकाले हत्या गरेका प्रहरीले प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ ।
अभियुक्त सुनारले मृतकको मोबाइल तथा गरगहनाहरूसमेत घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । लीलाको शवकोे जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि आफन्तले जिम्मा लिएका छन् ।
घटनामा संलग्न अभियुक्त सुनारलाई बिहीबार पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट शुक्रबार म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महोत्तरीमा ८ वर्षीया बालिका बलात्कृत
महोत्तरीमा ८ वर्षीय वालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन । १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ ।
बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य राखेको छ । २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।
अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुखसमेत रहेका रावलको भनाइ छ ।
उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।




















