काठमाडौं,१६ भदौ । जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ।

उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए । उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।

घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप छ। श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो ।

उक्त घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका थिए ।