एजेन्सी। करोडौं रुपैयाँ कमाउन कति मेहनत गर्नुपर्ला ? धेरै मेहनत गर्दा र प्रयास गर्दा पनि करोडौं कमाउन सकिँदैन । तर एउटा सुनसान घरमा १०० दिन एक्लै बिताउँदा ६ करोड रुपैयाँ उपहार दिइएको छ ।

चर्चित यूट्युबर मिस्टर बीस्टले यूट्युबमा एक चुनौती सार्वजनिक गरेका थिए, जसमा सीमित स्रोतसाधन, खानपिन र सुविधाबीच १०० दिनसम्म एक्लै सुनसान घरमा बस्नुपर्ने थियो । त्यो चुनौतीलाई सामान गर्न तयार भएका एक व्यक्ति सनले १०० दिन बिताएर ६ करोड रुपैयाँ पाएका छन् ।

बीस्टले सुनसान ठाउँमा एउटा घेरा बनाएका थिए, जसमा एउटा सानो घर ल्याएर राखेका थिए । घरभित्र अत्यावश्यक खाद्यान्न, कपडा लगायत वस्तु थिए । ती वस्तुकै भरमा उनले १०० दिनसम्म त्यहाँ बस्नुपर्ने थियो । जुन चुनौतीलाई पूरा गरिएको छ ।

घरभित्र उनका गतिविधिमाथि निगरानी गर्न छुट्टाछुट्टै ठाउँमा क्यामेरा समेत जडान गरिएको थियो । सनका गतिविधिहरू क्यामेरामा रेकर्ड गरिएका छन् ।

बीस्टले बीचबीचमा पनि सनसँग सम्पर्क गर्थे र चुनौतीलाई बीचमै छाडेर थोरै पैसा लैजान प्रलोभन दिन्थे तर सनले चुनौती पूरा गरेर ६ करोड रुपैयाँ पाएका छन् ।