काठमाडौं, १७ कात्तिक । मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई क्षमादान दिन नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गरी साउदी अरब सरकारले मृत्युदण्डको सजाय कार्यान्वयन गरेको छ । साउदीले दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल नपठाई परिवारको सहमतिबिनै दफन गरिदिएको छ ।

मृत्युदण्ड कार्यान्वयन गरेको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको हो । रियादस्थित नेपाली दूतावासका अनुसार जुबेलस्थित अबुहद्रिय जेल प्रशासनले कात्तिक ६ गते बसाहा–७, बै‌कडाँडा उदयपुरका दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए । ‘यो हाम्रा लागि निकै दुर्भाग्यपूर्ण हो । माफी पाइन्छ भन्नेमा ढुक्क थियौं तर एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबरले आश्चर्यचकित बनाइदियो,’ उहाँले भन्नुभयो ।

जेल प्रशासनले दाहाललाई जेल परिसरभित्रै मृत्युदण्ड दिइएको दूतावासको भनाइ छ । दाहालले २ फेब्रुअरी २००७ मा मोरङका आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । त्यस घटनामा गम्भीर घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो । नियोजित तरिकाले घटना गराएको भन्दै तल्लो अदालतले सुनाएको मृत्युदण्डको आदेशलाई क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर भएको थियो । २००६ मा अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्थे ।

दाहालले सुतिरहेका बेला विष्ट र सुडानी नागरिक हत्याको प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो । पीडित विष्टको परिवारले दाहाललाई ब्लडमनिबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुबेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि माफी नदिई स्वदेश फिरेका सुडानी नागरिक सम्पर्कविहीन भए । ‘विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट भएन, अदालतबाट पनि माफी भएन,’ नेपाली दूतावासका एक अधिकारीले भने ।