काठमाठौं,२१ पुस । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बिहीबार पेशी तोकिए पनि सुनुवाइ रद्द भएको छ ।
पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दा सुनुवाईका लागि उच्च अदालत पाटनमा न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा चौथो नम्बरमा पेशी तोकिएको थियो । तर, सन्दीपकै वकिलले मुद्दाको सुनुवाई स्थगित गराएका हुन् ।
योसँगै लगातार तेस्रो पटक सुनुवाइ रद्द भएको हो । यसअघि पहिलोपटक पनि सन्दीप पक्षले नै सुनुवाइ रोकेको थिया । गत १४ पुसमा तोकिएको सुनुवाइ हेर्दाहेर्दैमा गएको थियो ।
जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । एक नाबालिग किशोरीलाई जबर्जस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।
सन्दीपका कानुन व्यवसायी पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता बोकेर पुनरावेदनका लागि अदालत गएका थिए । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ । तर पछिल्लो समय पेशी तोकिएपनि सन्दीपकै कानुन व्यवसायीले लगातार सुनुवाई स्थगित गर्दै आएका छन् ।




















