विराटनगर,१० माघ । मोरङ कारागारका चौकिदार अभिषेक गिरीले सरुवा रोक्न माग गर्दै हालेको रिट ‘हेर्न नमिल्ने’ भन्दै माघ १२ गतेका लागि पेशी तोकिएको छ । गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिम आदेशको माग राख्दै माघ ३ गते उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए ।
उनले गृहमन्त्रालयको निर्देशनमा कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न मागसहित रिट निवेदन दिएका थिए । उनले कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए ।
अदालतका सूचना अधिकारी सुवेदीका अनुसार उच्च अदालत विराटनगरका न्यायाधीश किरणकुमारी गुप्ताको एकल इजलाशले माघ ९ गते सोमबार दुबै पक्षलाई छलफलको लागि उपस्थित हुन आदेश दिएको थियो । तर आजका लागि तोकिएको पेशी ‘हेर्न नमिल्ने’ भनि १२ गतेका लागि पुनः पेशी तोकिएको हो । अदालतले १२ गते छलफलमा आउन दुवै पक्षलाई आदेश गरेको छ ।
मुद्दाको पेशी सोमबार उच्च अदालत विराटनगरका न्यायाधीश राजन प्रसाद भट्टराई र किरणकुमारी गुप्ताको इजलासमा तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ भएपछि स्थगित भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।
अर्काे पेशी माघ १२ गते लागि पुनः दुवै पक्षलाई बोलउन आदेश भएको उनले बताए । गिरीको कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश कोइराला न्यायाधीश भट्टराईको आफन्त परेकोले मुद्दा हेर्न नमिल्ने आदेश भएको अदालतले जनाएको छ । गिरीले एक वर्षभन्दा कम अवधिमा छुट्ने कैदीबन्दीहरूको सरुवा नगर्ने प्राबधान विपरित आफ्नो सरुवा भएकोले बदर गर्न माग गर्दै रिट दिएका थिए ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको फागुन ३ गते कैद अवधि पुरा हँदैछ ।
डिल्लीबजार कारागारमा रहेका गिरी २०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागारमा सरुवा भएका थिए । २०७४ चैत २३ गते भन्दा अगाडि उनी मोरङ कारागारको चौकीदार थिए ।चौकीदारको रूपमा रहदा बजार क्षेत्रमा गुण्डागर्दी र कैदीबन्दीलाई यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते मोरङबाट डिल्लीबजार कारागार स्थानान्तरण गरिएको थियो ।
गिरीलाई दोस्रो पटक मोरङ ल्याउनका लागि २०७८ असोज १८ गते तत्कालिन चौकीदार नवीन राईलाई झुम्का कारागार सारिएको थियो । राईको सरुवापछि किरण गुरुङले कामचलाउ चौकीदारको जिम्मेवारी पाएका थिए । २०७८ साल कात्तिक २४ गते मोरङ कारागारमा गिरीकै कारण झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।
झडपपछि गुरुङसहित ६ जनालाई झापा र इलाम सरुवा गरिएको थियो । २०७८ मंसिर ९ गते गिरी आउनुअघि तत्कालिन चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारलाई सिन्धुली कारागार सरुवा गरिएको थियो ।
गिरी काङ्ग्रेस कार्यकर्ता रहेकाले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा २०७८ मंसिर ९ गते मोरङ ल्याइएको कारागार स्रोतको भनाइ छ ।




















