काठमाडौं,२० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका हुन्। 

कुवेतमा पुर् याई श्रम शोषण गरेको र यौनशोषणमा परेको सूचनापछि कुवेतस्थित नेपाली दूतावासले उननलाई उद्धार गरी नेपाल पठाएको छ।मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ। गत मंसिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्‍याई जनही कम्तीमा पाँच लाखमा बिक्री गरिएको खुलेको छ ।

मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ। 

उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिकालगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पुर् याएपछि एक हजार ३०० कुवेती दिनारमा बिक्री गरिएको थियो । 

बेचबिखनमा परेपछि आफूहरूलाई चर्को श्रममा लगाएको र निरन्तर यौनशोषण गरेको पीडित युवतीले बताइन्। पाँच जनाले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा नसके कुटपिट हुने गरेको उनले बताइन्।