विराटचोक,३ फागुन । मोरङको सुन्दरहरैचा– १० स्थित खोर्साने चोकबाट ब्राउन सुगर सहित २८ वर्षीय सुरज थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका उनी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय विराटचोकले जनाएको छ ।
प्रहरीका अनुसार खोर्साने चोकमा फास्टफुड सञ्चालन गर्ने २८ वर्षीय मगरले लागूऔषध सेवन तथा बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरी टोलीले शरीर जाँच गरेको थियो ।
सो क्रममा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाईल फेला परेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीबाट उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















