- ✍️ आचार्य अमृत
आज मलाला युसुफजाईको नाम नसुन्ने शिक्षितहरू संसारमा कमै होलान् तथापि कतिपयलाई उनका बारेमा धेरै कुरा थाहा नहुन पनि सक्छ । त्यसैले आज म उनका बारेमा केही कुरा राख्न खोज्दै छु ।
पाकिस्तानको स्वात उपत्यकामा सन् १९९७ को जुलाई १२ मा जन्मिएकी मलाला शिक्षासेवी-समाजसेवी जियाउद्दीन र उनकी पत्नी तोर पेकीकी प्रथम सन्तान हुन् । उनीपछि जन्मेका खुशाल र अटल उनका भाइ हुन् ।
संसारमा मलालाको नाम फैलिन थालेको सन् २०१२ पछिदेखि हो । कट्टरपन्थी इस्लामी समाजमा जन्मिएर पनि आफ्नो परिवार शिक्षित र चेतनशील भएकाले मलालाले सानैदेखि आफ्नो समाजको गतिविधि बुझ्ने अवसर प्राप्त गरिन् । तालिबान आतङ्ककारीहरूले छोरीहरूको शिक्षामा लगाएको प्रतिबन्धप्रति मलाला एकदमै असन्तुष्ट रहिन् र त्यस्ता क्रियाकलापको विरोध गर्न सुरु गरिन् । मानिस भएर जन्मेपछि प्रत्येक व्यक्तिले बिनाअवरोध शिक्षा प्राप्त गर्न पाउनुपर्छ भन्ने एक सूत्र लिएर उनी अगाडि बढ्न थालिन् । उनलाई आफ्ना पितामाता र उनकै सँगिनीहरूको साथ थियो । सम्पूर्ण बालबालिकाले निर्बाध रूपले शिक्षा पाउनुपर्छ भन्ने अटल सङ्कल्पका साथ मलालाले आवाज उठाउन थालिन् । तालिबानहरूका लागि उनको यस्तो कदम असह्य भयो र ९ अक्टोबर २०१२, मङ्गलवारका दिन विद्यालयबाट भ्यानमा घर फर्कँदै गरेकी मलालामाथि कुनै आततायीले गोली प्रहार गर्यो । त्यस प्रहारबाट उनी मात्र होइन, विद्यालयबाट उनीसँगै फर्कँदै गरेका उनका साथीहरू पनि घाइते भए ।
तर त्यस्तो दुर्दान्त घटनाबाट पनि मलालासँगै उनका साथी पनि बाँचे । नियत राखेर नै गोली हानेको हुनाले मलालाको बाँच्ने सम्भावना ज्यादै कम थियो तथापि पाकिस्तानी सरकार र बेलायती सरकारको भगीरथ प्रयत्नबाट मलाला बाँच्न सफल भइन् । संसारभरका बालबालिकालाई शिक्षा प्राप्त गर्न दिइनुपर्छ भन्ने अभियानमा अग्रणी भूमिका निर्वाह गरेबापत मलालालाई शान्तिका लागि सन् २०१४ को नोबेल पुरस्कार प्रदान गरियो र नोबेल पुरस्कारको इतिहासमा मलाला नै सबैभन्दा कान्छी विजेता हुन पुगिन् । मलाला १६ वर्ष पुगेको उपलक्ष्यमा सन् २०१३ को जुलाई १२ लाई संयुक्त राष्ट्र सङ्घले मलाला दिवस मनाउने घोषणा गर्यो । त्यस महत्तम कार्यक्रममा संसारले मलालाका विचार सुन्ने अवसर प्राप्त गर्यो । त्यसको १ वर्षपछि नोबेल पुरस्कार ग्रहण गर्दै गरेका अवसरमा मलालाले जे अभिव्यक्त गरिन्, त्यो सुनेर दुनियाँ अवाक् भएको थियो ।
मृत्युको मुखबाट बाँच्न सफल मलालाबाट विश्वले धेरै कुरा प्राप्त गर्नेछ भन्ने कुरामा पूरापूर विश्वास गर्न सकिने देखिन्छ ।
कौशलटार, मध्यपुर ठिमी, भक्तपुर ।



















