• ✍️ आचार्य अमृत 

मानिसहरू कतिपय सवालहरूमा  "मैले त यो कुरै बुझ्न सकिनँ " भनेर भन्ने गर्छन् । यसो भन्ने धेरैले त्यो कुरो बुझेका हुन्छन् तर त्यो उनीहरूका लागि अस्वीकार्य भएकाले त्यसको प्रतिक्रिया उक्त वाक्य बोलेर गर्ने गर्छन् भने कतिपयले चाहिँ त्यो कुरो साँच्चिकै नबुझेर त्यसो भनेका हुन सक्छन् ।

अहिलेको मेरो प्रसङ्‌ग हाे, दुर्गा प्रसाईँजीको महाअभियानको । उहाँले गर्दै आउनुभएको व्याख्याअनुसार उहाँको अभियान एक हदसम्म ठिकै पनि होला तर म महाअल्पज्ञ मान्छे के ठान्छु भने राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत २०५८ को जेठ १९ गते हत्या गरिएका व्यक्तिहरूलाई केही समय सार्वजनिक स्थलमा राखेर सर्वसाधारण नेपालीसमेतका लागि श्रद्धाञ्जली प्रकट गर्ने अवसर किन दिइएन र किन सहरमा निषेधाज्ञा (curfew) लगाएर हतारहतार उनीहरूको कथित दाहसंस्कार गरियो ? अभियान सञ्चालनका क्रममा प्रसाईँजीले यो सवाल पनि राखिदिने गर्नुभए उहाँ आफ्नो मिसनमा अझै सशक्त हुँदै जानुहुने थियो कि ! होइन भने त त्यो प्रश्न उठाउने जनता देशैभरि होलान्, अनि कसरी प्रसाईँजी आधारबिनाको जगमा उभिएर सफल हुनुहोला, यो मेरो एक जिज्ञासा मात्र हो, अरू केही होइन । 

माथि मैले उल्लेख गरेका प्रश्नको चित्तबुझ्दो जवाफ कसैबाट आउँछ भने यसमा कसैले बाह्रबखेडा गरिरहनै पर्दैन न त कसैले दोहोरी नै चलाउनुपर्छ ।

मलाई लाग्छ, भुतलाई जगाउने कसरत गर्नुको सट्टा अहिलेका भ्रष्टाचारीहरूलाई  ठेगान लगाउने कुरामा प्रसाईँजीले अहिले चलाउन खोजेजस्तै महाअभियान चलाउने हो भने मुलुक सर्लक्कै माथि उठिहाल्छ नि, होइन र ? कम्तीमा सुरक्षा निकाय र न्यायप्रशासनमा भागबन्डाको कुत्सित र कलुषित परिपाटीलाई पूर्णत: बन्द गरिदिने हो भने समृद्ध नेपाल र सुखी नेपालीको नारा स्वत: सार्थक भइहाल्छ नि, हुँदैन ?  म भन्छु, आफूलाई अभियन्ताका रूपमा चिनाउन चाहने महानुभावहरूको ध्यान मैले माथि उल्लेख गरेका कुरातिर गइदिए कति राम्रो हुँदो हो नि भन्ने मलाई लाग्छ ।

कौशलटार, मध्यपुर ठिमी, भक्तपुर ।