पथरी,२० फागुन । माेरङको  पथरीशनिश्चरे -१० मा स्थापित  बाल नमुना विद्या मन्दिर विद्यालयको २७ औं अभिभावक दिवस विभिन्न कार्यक्रमहरूका साथ शनिवार  सम्पन्न भएको छ।

सामाजिक, धार्मिक, शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सन्तोष कठायत, विद्यालयकी संस्थापक चन्द्रकला अधिकारी, खोज अनुसन्धान कर्ता तथा लेखक दिपेन्द्र तिम्सिना, शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने उद्धव थापा,काजी राई, पदम गुरुङ र शिक्षक रविन लिम्बुलाई रूद्राक्ष माला र कदर पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो।

प्रमुख अतिथि समेत रहनुभएका वडा नं- १० का वडा अध्यक्ष जीवन खतिवडाले  सो विद्यालयले विगत वर्षहरुदेखि नै जीवन उपयोगी सीप र शिक्षा दिदै नेपाली कृषि उपजको उचित प्रचारप्रसार गर्नुकासाथै  शैक्षिक सुधार कार्यक्रमहरू सञ्चालन गर्नु निकै प्रशंसनीय कार्य भएको बताए।

 कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारी, पथरीशनिश्चरे नगरपालिकाका  शिक्षा शाखाका अधिकृत  नवीन खुलाल , नेपाल शिक्षक महासंघका नगर अध्यक्ष अर्जुन कुमार बुढाथोकी,वडा सदस्यहरु क्रमशः विर बहादुर बस्नेत,  दिल बहादुर कार्की,मीना कुमारी तामाङ, लगायतका अतिथिहरूको उपस्थिति थियो।

गत शैक्षिक सत्र-२०७८अन्तर्गत  विभिन्न तहमा प्रथम, द्वितीय  र तृतीय स्थान हासिल गर्ने छात्र-छात्राहरूलाई पुरस्कृत गरिएको उक्त अवसरमा स- साना नानी बाबुहरूले बालगीत गराउनुका साथै अन्य विद्यार्थीहरुले  निकै सुन्दर गायन, नृत्य, नाटक तथा सांस्कृतिक कलाहरु प्रस्तुत गरेका थिए। खेलकुद सप्ताह अन्तर्गत विभिन्न विधामा विजयी भएका विद्यार्थी र अभिभावकहरूलाई  पनि पुरस्कृत गरिएको थियो। उक्त अवसरमा परम्परागत कृषि क्षेत्रमा प्रयोग गरिने औजारहरू सम्बन्धी विभिन्न स्टलहरु पनि राखिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर घिमिरे अध्यक्षतामा सम्पन्न भएको साे कार्यक्रममा विद्यालयका संचालक मीन बहादुर ठकुरीले स्वागत मन्तव्य राखेका थिए।