• ✍️ राधाकृष्ण देउजा 

हाम्रो मातृभुमि नेपालमा कोहि कसैले अनाहकमा दुख पिडा भोग्न पर्यो भने त्यसरी दुख भोग्ने पात्रलाइ भिमसेन थापा संग तुलना गर्ने गरिन्छ । भीमसेन थापा अर्थात राम्रो गर्दा गर्दै पनि त्यसको कदर गर्नुको साटो अकल्पनीय दुख पिडा दिइएकोले मृत्युवरण गरेको एक पात्र । हाम्रो सिंगो समाज शव्दमा भिमसेन थापा प्रति सहनाभुती राख्छ तर व्यवाहारमा अनेकनलाइ  भीमसेन थापाको नियति भोग्न बाध्य पार्छ वा पार्न खोजेको मुकदर्शक भएर हेर्छ । 

यो प्रवृति राष्ट्रिय चिन्ताको विषय हो जस प्रति संवेदनशिल हुन अनिवार्य छ । आज म यो किन लेखिरहेको छु भने आफ्नो जीवनको अमुल्य जीवन राज्यको कुनै निकायमा रहेर जाने बुझेसम्म राम्रो संग सेवा गरेर उत्कृष्टताको नमुना बनेर निस्केकाहरुलाइ उनीहरुले त्यसरी पदमा रहँदा गरेको कामले कतै न कतै घाटा पुगेकाहरु वा पुगेकाहरुको निकटहरुले अनेकन ढंगले बदनाम गर्ने , मान मर्दन गर्ने र नियोजित रुपमा पिडित बनाउने काम गर्ने गरेको पाइन्छ । धन्न तिनीहरुले भिमसेन थापाकै जस्तो मृत्यु नै रोजेको त अक्सर छैनन तर तिनको विरुद्ध अनेकन फण्डा गर्नेहरुको लक्ष्य त त्यस्तै हो कि जस्तो लाग्छ ।

आफ्नो व्यवसायिक/पेशागत जीवनमा प्रदर्शित त्यस्तै इमान्दारिता सहितको उत्कृष्टताले सम्मान आर्जन गर्दै न्यायसेवाको सर्वोच्च पदमा पुगेर सेवा निवृत कल्याण श्रेष्ठलाइ कहीं कतै त्यस्तै भीमसेन थापा बनाउने गिरोहले निशाना साँध्दै त छैन भन्ने आशँका पो उत्पन्न हुँदैछ । 

न्याय सेवामा रहंदा केवल न्याय गर्ने आफ्नो दाइत्व सम्झिएर काम गर्नु भएका , सर्वोच्च अदालतको प्रधानन्यायधिश हुँदा मात्रै हैन अवकाश पश्चात पनि संविधान माथिको आक्रमणको खिलाफ जवर्जस्त उभिनु  भएका आँटिलो न्यायमुर्ति कल्याण श्रेष्ठलाइ वहाँको निस्वार्थ अडान र  तदअनकुलको सक्रियताको यथार्थमा भन्दा काल्पनिक पदीय दौडमा रहेको देख्नेहरुले वहाँलाइ राष्ट्रपतिको दौडमा रहेको पनि भन्न भ्याए । जब कि वहाँ कुनै दौडमा रहेको कहीं पुष्टि हुदैन थियो बरु दलहरुको छलफलमा स्वतस्फ्रुत वहाँको नाम समेतमा चर्चा भएको र  त्यसै सेलाएको सुनिन्थ्यो ।

 न्यायमूर्ति भैसकेको व्यक्ति  योग्यता क्षमताको हिसाबले संवैधानिक राष्ट्रपती चलाउन अरु कोहि भन्दा नि अब्बल हुने कुरा निर्विवाद थियो । तर हाम्रो जस्तो देशमा योग्यता क्षमता भन्दा  ज्यादा पछाडी लाग्ने भिड चाहिन्छ त्यस्तोमा कल्याण श्रेष्ठ वा  अरु कोहि न्यायाधिशले राष्ट्रपती निर्वाचन लडन र जित्न के आधार देखेर लाग्नु ? त्यसमाथि दलीय नियन्त्रणमा रहेको बार एसोसीएसनको एउटा तहको नेतृत्वदायी कमिटिले हल्ला देखि नै पनि डराएर न्यायधिश प्रधानन्यायधिश भएको व्यक्तिलाइ राष्ट्रपती उपराष्ट्रपती बनाउन पाइन्न भन्ने वक्तव्य समेत आएपछि त दलीय वैठकमा भएको भनिएको चर्चा पनि केवल चर्चा थियो भन्ने स्पष्ट भएकै थियो । तर हल्लै हल्ला बाट नै प्रभावित भएर वा कल्याण श्रेष्ठको बारेमा नकारात्मक चर्चा गरिदिँदा वहाँको न्यायिक निर्णय र संवैधानिक सर्वोच्चता प्रतिको वहाँको दृढता बाट क्रुद्ध आफ्ना मालिकहरु खुसि होलान कि भन्ने भ्रमले हो कि कल्याण श्रेष्ठलाइ सर्वोच्चको वाहलवाला न्यायधिशको फैसला देखि संसदले आफ्नो हिसाबले दर्ता गरेको माहाअभियोग समेतमा जोडेर भयङ्कर करार गर्ने क्रम निरन्तर छ ।

 थाहाछैन यो किन र के को लागि गरिंदैछ त्यसैले  अकारण चलेको सन्देहजनक व्यवहारमा परिवर्तन त गर्न सकिन्न तर पनि न्याय केवल न्याय गर्दै गर्दा आफु भने नियोजित प्रायोजित हल्ला  र आरोपको सामाना गर्न वाध्य हुनुभएका सम्मानयोग्य न्यायमुर्तिलाइ “ श्रीमान, अफवाह र आरोपहरुले दुखित चिन्तित हुने भन्दा  पनि आफ्नो गौरवयोग्य कर्महरु र त्यसको परिणाम प्रति  गौरावान्वित रहनुस ।” भन्ने बिनम्र निवेदन गर्नु चाहिं हाम्रो नागरिक दाइत्व हो जस्तो लाग्छ ।