इटहरी,३० फागुन । सामुदायिक विद्यालय भइकन पनि निजी विद्यालय भन्दा अब्बल गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ र भन्ने नेपाली समाजमा जिज्ञासा हुने गरेको छ तर पछिल्लो समय यस भ्रमलाई इटहरी स्थित जनता माध्यमिक विद्यालयले चिरेको छ ।
सामुदायिक विद्यालय भईकन गुणस्तरीय पठनपाठन हुने विद्यालयको रूपमा आफूलाई परिचित गराउँदै आएको सामुदायिक विद्यालय हो जनता माध्यमिक विद्यालय । गुणस्तरीय शिक्षा र सवल व्यवस्थापनकै कारण यो विद्यालय पछिल्ला केही वर्षयता विद्यार्थी तथा अभिभावकको आकर्षण केन्द्र बन्दै आएको छ ।प्राविधिक गुणस्तरयुक्त शिक्षामा जोड दिएको विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको हो । बाल कक्षा देखि कक्षा ९ सम्मका आगामी शैक्षिक सत्रका लागि विद्यालयले चार सय बत्तीस जना विद्यार्थी भर्नाका लागि खुलाएको आवेदन फारम आठ सय २५ जनाले भरिसकेका छन् ।
वार्षिक परीक्षा नसकिदै माग संख्या भन्दा दोब्बर संख्यामा विद्यार्थीको आवेदन परेको विद्यालयका प्रधानध्यापक पशुपति सिग्देलले बताउनु भयो । नमुना विधालय विकासका लागि नेपाल सरकारबाट छनोट भएको सो विद्यालय पाँचौं बर्षमा पुग्दै गर्दा कोशी प्रदेशबाट सुनसरी कै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयमा पर्न सफल भएको थियो । यहि शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान विषय अध्ययन अध्यापन गराउँदै आएको विद्यालयले नेपाली र अंग्रेजी माध्यम बाट छुट्टाछुट्टै संरचनामा पठनपाठन गराउँदै आएको निमित्त प्रधानध्यापक खीलानाथ गौतमले बताउनु भयो ।
एसइइ परीक्षामा समेत राम्रो नतिजा विद्यालयको छ । गत वर्षको एसइइमा ३.६ जिपिए देखी ४ जिपिए प्राप्त गरी ३९ जना र ३ .२ जिपिए देखी ३.६ जिपिए प्राप्त गरी ८२ जना उर्तिण भएका थिए भने बाकीं सत प्रतिसत विधार्थी उर्तिण भएका थीए । आगामी शैक्षिक सत्रका लागि ४ सय ३२ जना विद्यार्थीको माग गरिएकोमा १५ सयको हाराहारीमा विद्यार्थीले भर्ना का लागि आवेदन दिने विद्यालयका प्रधानध्यापक पशुपति सिग्देलको अनुमान छ ।
विधालयको भौतिक पूर्वाधार शिक्षक नियुक्ति देखि विद्यार्थीको लागि विभिन्न सेवा सुविधा थप गर्दै लागेका कारण बर्सेनि यस विद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरु को संख्या बढ्दै गएको छ । व्यवस्थापन शिक्षा तथा मानविक संकायको कक्षाहरु सञ्चालन भइरहेको यस विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा पत्रकारिता कानुन संकायमा पनि अध्ययन अध्यापन गराउने विद्यालयको योजना रहेको शिक्षक प्रतिनिधि शिवराज दाहालले जानकारी दिनुभयो ।
सर्टिफिकेट भन्दापनि सामाजिक उत्तरदायित्व वहन गर्न सक्षम विधार्थी उत्पादन गर्न व्यवहारिक ज्ञान र सामाजिक उत्तरदायित्व प्रति उत्प्रेरित गर्ने काम विद्यालयले गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताउनु भयो । यसै वर्षदेखि विद्यालयमा प्राविधिक धार सञ्चालनका लागि पहल भइरहेको बताउँदै उहाँले सामुदायिक विद्यालयमा कमै मात्र हुने ब्रिजकोर्स पनि सुरु गर्ने विद्यालयको योजना रहेको दंगालले जानकारी गराउनु भयो ।
आफ्ना विद्यार्थीहरु मात्र नभई अन्य विद्यालयहरु अथवा बाहिर बाट आएका विद्यार्थीहरुलाई पनि ब्रिजकोर्सको लागि अवसर दिइने अध्यक्ष दंगालको भनाई छ ।
जनता मावीले पछिल्लो समय भौतिक पूर्वाधार शिक्षक नियुक्ति देखि विद्यार्थीहरूको लागि विभिन्न सेवा सुविधा थप गर्दै लगे पछि यस विद्यालयमा पछिल्ला तीन वर्षदेखि विद्यार्थीको चाप बढ्दो छ । गुणस्तरीय शिक्षा व्यवस्थापन र प्रविधियुक्त शिक्षाको प्रचुरताका कारण जनता माध्यमिक विद्यालय निजी विद्यालयको प्रतिस्पर्धीको अब्बल रुपमा स्थापित हुन सफल भएको छ ।



















