विराटनगर । विराटनगरको रानी नाकामा विषादी जाँच्ने उपकरण नहुँदा जाँचपासको काम रोकिएको छ । सरकारले भारत तथा तेस्रोे मुलुकबाट आयात गरिने फलफूलमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी जाँचपास नियमलाई अनिवार्य गरेपनि परीक्षण गर्ने निकाय र आवश्यक उपकरण नहुँदा कार्यान्वयनमा समस्या देखिएको हो ।
गएको शुक्रबारदेखि क्वारेन्टाइन र जीवनाशक विषादी जाँचपासको काम रोकिएको छ ।पूर्वी नेपालको प्रमुख नाका रानीमा फलफूल र तरकारी बोकेका भारतीय गाडीहरु सीमा क्षेत्रमा रोकिएका छन् ।रानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले तरकारी र फलफूल बोकेका सवारीसँग क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण रिपोर्ट नभएको र आफूहरुलाई त्यो गर्ने अधिकार नहुँदा जाँचपास रोक्नुपरेको बताए ।आपूर्ति मन्त्रालयले तरकारी र फलफूल आयातमा जीवनाशक विषादी जाँचपास अनिवार्य गरेको छ ।आयात प्रतिस्थापन र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले तरकारी तथा फलफूल आयातमा कडाइ गरेको हो ।




















