इटहरी,१४ वैशाख । इटहरीस्थित जनता मा विले स्थापना गरेको अक्षयकोषमा इटहरी–१६ का रमेश पाण्डेले दुई लाख रुपैँया जम्मा गरेका छन् ।
विद्यालयको समग्र शैक्षिक विकासका लागि स्कुलले स्थापना गर्न थालेको अक्षयकोषमा विद्यालयले यसअघि नै १० लाख रुपैया जम्मा गरिसकेको छ ।
कुल १८ लाख ४० हजार रुपैँया जम्मा भइसकेको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । उक्त रकमबाट विद्यार्थीलाई छात्रवृति र अन्य विकासका कामहरु गरिने उनले बताए ।
विद्यालयको सहयोगका लागि आर्थिक सहयोग जुटाउन थालिएको र पाँच करोड रुपैयाको अक्षयकोष बनाउने सपना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।
सामुदायिक विद्यालय भईकन गुणस्तरीय पठनपाठन हुने विद्यालयको रूपमा आफूलाई परिचित गराउँदै आएको सामुदायिक विद्यालय हो जनता माध्यमिक विद्यालय । गुणस्तरीय शिक्षा र सवल व्यवस्थापनकै कारण यो विद्यालय पछिल्ला केही वर्षयता विद्यार्थी तथा अभिभावकको आकर्षण केन्द्र बन्दै आएको छ ।



















