हामी कति कुराको वास्ता गर्छौँ भने कति कुराको बेवास्ता गर्छौँ, जसलाई स्वाभाविक रूपमा लिन सकिन्छ । तर एउटा कुरामा चाहिँ ध्यान दिनै पर्छ होला । त्यो के हो भने हामी वास्ता गर्नुपर्ने कुराको नै वास्ता गर्दै छौँ कि वास्ता नगर्नुपर्ने कुराको वास्ता गर्दै छौँ ? त्यसैगरी हामी बेवास्ता गर्नुपर्ने कुराको नै बेवास्ता गर्दै छौँ कि बेवास्ता नगर्नुपर्ने कुराको बेवास्ता गर्दै छौँ ? यदि हामीमा विवेकशक्ति जीवन्त रूपमा रहेको छ भने हामी वास्ता गर्नुपर्ने कुराको नै वास्ता गरिरहेका छौँ र बेवास्ता गर्नुपर्ने कुराको नै बेवास्ता गरिरहेका छौँ । यदि यो कुरो साँचो हो भने हामीले आफूलाई मान्छेका रूपमा उभ्याउन सकेका रहेछौँ भनेर ठान्न पाउँछौँ ।
अब म देशतिर फर्कन्छु । सिमाना मिचिँदो छ, तल बस्ने जनता त्यो देखेर चिच्याइरहेका छौँ तर जसले सुनोस् र सम्बन्धित ठाउँमा आफ्नो वास्ता रहेको देखाओस् भनेर आशा गर्दछौँ, त्यो बोल्दैन, बोल्दै बोल्दैन । किन बोल्दैन ? किन बोल्दैन, बोल्दैन, जानेर जानिसक्नु छैन । विदेशीले तुइन काटेर नेपालीलाई नदीमा खसाएर मारिदिन्छ । ठिँगुरो मुङ्ग्रो लिएर बसेको कथित शासक चुइँक्क बोल्दैन । आफ्नो भूभाग संलग्न गरी अर्काले नक्सा बनाएर आफ्नो कचहरीस्थलमा राख्तै चुनौती दिन्छ तर संसद्काे रोस्टममा बाघगर्जन गरेर आफ्नालाई थर्काउनेहरू थाहा पाएको नपायै गरी मासु र रक्सी उदरस्थ गरेर ङुर्र गर्दै आएर हामीलाई नै हप्काउँछन् । के हो यो ? एउटा हिम्मतदार स्थानीय जनप्रतिनिधिले विशाल नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ता पनि 'यो गर्नै पर्थ्यो वा यो गर्नु हुँदैनथ्यो' भनेर पनि आधिकारिक ठाउँबाट भनिँदैन ( लारेलुरेले मसिनो स्वरमा विशाल नेपालको नक्सा राखेकामा विरोध जनाउनुले कुनै महत्त्व राख्तैन ) ।
विदेश भ्रमणमा जाने भनिन्छ, मोबाइल खेलाएर बसिरहने बानी लागेकाहरूलाई लिएर भ्रमणमा गइन्छ पनि । न त्यहाँ सिमाना मिचेको कुरो उठ्न सक्छ, न ईपीजीको कुरो उठ्न सक्छ, न नेपालका भूभागलाई आफ्नो नक्सातिर पारेर मुस्कुराइरहेको सम्राट्सँग आँखा जुधाएर 'यो के गरेको ?' भन्ने ह्याउ नै देखाउन सक्छ, न उसले बाँधेको बाँधले सीमावर्ती नेपालीहरूलाई दिएको पीडाबारे नै केही बोल्न सक्छ । यस्तो पनि नेपाली शासक हुन सक्छ ? यस्तो पनि वीर भक्ति थापा, वीर अमरसिंह थापा र वीर बलभद्रको उत्तराधिकारीको सास हुन सक्छ ? के ऊ वास्ता गर्नुपर्ने कुरालाई वास्ता गर्न सक्षम छ ? अनि वास्ता गर्नु नपर्ने कुराको वास्ता नगर्न पनि खप्पिस छ ? के हुन्थ्यो ? यसको ठिक उल्टो छ । एउटा राष्ट्रको सरकार प्रमुख औपचारिक भ्रमणमा गएको छ तर उसको स्वागत गर्न एउटा तल्लो पोर्टफोलियोको मान्छे आउँछ । त्यसरी अपमानित हुँदा पनि प्रतिक्रियाहीन भएर बस्न सक्ने क्षमतालाई चाहिँ उल्टा पट्टिबाट नै भए पनि मान्नैपर्ने हुन्छ । के त्यहाँको शासक भ्रमणमा आयो भने उसैको जस्तो गरी कुनै त्यस्तै मान्छेलाई स्वागत गर्न पठाइदिन्छु भन्ने आँट छ कि सास न बास हुँदै आफैँ हात जोड्दै र कुप्रो पर्दै विमानस्थलमा जाने भन्ने छ ? नेपाली जनताका असङ्ख्य प्रश्नमध्ये यो पनि एउटा प्रश्न हो । यसले पनि ठिकसँग गरिने वास्ता र बेवास्तालाई देखाउँछ ।
बेला बेला लाग्छ, हामी कति लाचार भयौँ, कति पामर( डरपोक/पानीमरुवा) भयौँ, कति लाछी भयौँ, कति नाक काटेको र सिँगान पुछेको थाहा नपाउने भयौँ, कति विदेशीहरूका दास भयौँ, कति स्वार्थी भयौँ, कति बेकम्मा भयौँ, कति फन्टुस भयौँ ... । यस्तै कुराले गर्दा आफैँ पनि सुर न सारको हुनेजस्तो भइयो । को देखा पर्ला अब लौह मानवका रूपमा नेपालमा जसले ठिक आँट गर्छ र आँटेको कुरा जसरी पनि पूरा गरेरै छोड्छ ?



















