इटहरी,९ असार  । सुनसरीको इटहरीस्थित जनता माविमा यो वर्षदेखि कानुन विषयका कक्षाहरु पढाइने भएको छ । विद्यार्थीहरुप्रति कानुन विषयको रुचीलाई ध्यानमा राख्दै कक्षा ११ र १२ मा उक्त विषयका कक्षाहरु थप गरिएको विद्यालयका प्राचार्य  पशुपती सिग्देलले जानकारी दिए । 

प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर बनेको उनले बताएका छन् । शिक्षा, मानवीकी, व्यवस्थापन विषयका कक्षाहरु पढाइ भइरहेकोमा यो वर्षदेखि कानुन विषय थप हुने उनले बताए । स्कुलको कक्षा ११ र १२ मा गरेर अहिले ८५० जना विद्यार्थी अध्ययनरतछन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ । जसको कारण यो वर्ष एक हजार जना थप विद्यार्थी भर्ना लिने तयारी रहेको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । 

‘भवन र कोठा अभावमा हामीले धेरै विद्यार्थी भर्ना लिन सकिरहेका थिएनौं,’ उनले भने, ‘यो पटकदेखि हामी प्लस टुमा मात्रै दुई हजार जना विद्यार्थी भर्ना लिने तयारीमा छौं ।’

विद्यालयमा अहिले सबै कक्षा गरेर जम्मा तीन हजार एक सय विद्यार्थी छन् । व्यवस्थापन सुधार, भौतिक पुर्वाधार निर्माण भएसँगै विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको छ ।

विद्यालयमा विज्ञान विषय अध्ययन गर्नेका लागी ९ कोठाको अत्याधुनीक सुविधा सम्पन्न ल्याबको निर्माण अन्तीम चरणमा पुगेको छ ।

गरीब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । अध्यापन र व्यवस्थापन राम्रो भएकैले विद्यार्थीले उत्कृस्ठ नतिजा प्राप्त गर्ने गरेका छन् ।  विद्यालयले प्रदेश सरकार बाट जिल्लाकै उत्कृष्ठ विद्यालयको रुपमा पुरस्कार समेत पाइसकेको छ ।

सामुदायिक विद्यालय भईकन गुणस्तरीय  पठनपाठन हुने विद्यालयको रूपमा आफूलाई परिचित गराउँदै आएको यस विद्यालयको एसइइ परीक्षामा समेत राम्रो नतिजा छ ।  गत वर्षको एसइइमा ३.६ जिपिए देखी ४ जिपिए प्राप्त गरी ३९ जना र ३ .२  जिपिए देखी ३.६ जिपिए  प्राप्त गरी ८२ जना उर्तिण भएका थिए भने बाकीं सत प्रतिसत विधार्थी उर्तिण भएका थीए ।