विराटचाेक,१४ साउन । महिलाको सिक्री थुतेको घटनामा संलग्न बालक सहित तीन जनालाई प्रहरीले सुन्दरहरैँचाको सलकपुरबाट पक्राउ गरेको छ ।
महिलाले घाँटीमा लगाएको सिक्री थुतेको घटनामा संलग्न तीनै जनाको घर पर्सा हो । पर्साको वीरगन्ज महानगरपालिका–१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका–६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार सुलकपुरस्थित बजारमा तरकारी किन्दै गरेकी सुन्दरहरैँचा–९ की निर्मला राईको घाँटीबाट शनिबार साँझ ७ बजेतिर विशालले सिक्री थुतेका हुन् । निर्मलाको सिक्री थुतेको स्थानीयले देखेका थिए । भाग्न खोज्दै गर्दा विशाललाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीको जिम्मा लगाएका हुन् ।
सिक्री थुतेको घटनामा संलग्नलाई नियन्त्रणमा लिएको जानकारी स्थानीयले गराएपछि इलाका प्रहरी कार्यालय विराटचोकबाट प्रहरी घटनास्थल पुगेको थियो । तर, विशालको साथबाट सिक्री फेला परेन । नजिकै रहेका बालकको साथबाट सिक्री भेटिएको प्रहरीको भनाइ छ । पक्राउ परेका उमेश बालकसँगै थिए ।
डीएसपी दाहालका अनुसार थुत्नसाथ सिक्री विशालले १० वर्षीय बालकलाई थमाइदिएको पत्ता लागेको छ । प्रहरीले सिक्री बालकको साथबाट बरामद गरेको हो । ‘कसैले शंका नगर्ने भएका कारण सिक्री थुतिसकेपछि बालकलाई थमाइदिने गरेको पत्ता लाग्यो,’ दाहालले भने, ‘शरीर खानतलासी गर्दा घटनामा संलग्न विशालको साथबाट सिक्री भेटिएन ।’ बालकको साथबाट सिक्री भेटिएपछि उनीसँगै रहेका उमेशलाई पनि पक्राउ गरिएको उनले बताए ।
सिक्री थुत्ने गिरोहका तीनै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । सिक्री थुतेको अन्य घटनामा पनि उनीहरुको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरुविरुद्ध प्रहरीले चोरी–डाँका मुद्दा चलाउने भएको छ ।




















